कमलेश यादब
सिरहा, ८ चैत्र । विहीवारदेखि सञ्चालन भइरहेको यसपालिको माध्यमीक शिक्षा परिक्षा (एसइइ) मा केन्द्राध्यक्षकै मिलोमतोमा परिक्षा मर्यादित हुन सकेको छैन ।
निजी विद्यालयका सञ्चालक हरुले एसइइ परिक्षाको परिक्षा केन्द्रका केन्द्राध्यक्षहरुलाई रकमको लोभ दिंदै आफ्ना विद्यालयमा कार्यरत शिक्षकहरु लाई परिक्षा निरीक्षकको रुपमा खटाएपछि सिरहामा सञ्चालित एसइइ परिक्षा मर्यादित हुन नसकेको हो ।
परिक्षाको पहिलो दिन नेपालीको विषयमा जिल्ला परिक्षा समन्वय समितिले दिएको निर्देशन पालना नगरेको भन्दै सिरहाका निमित्त प्रमुख जिल्ला अधिकारी सोमनाथ भट्टराईको नेतृत्वको अनुगमन टोलीले लहानस्थित पशुपति आदर्श माध्यमीक विद्यालयका केन्द्राध्यक्ष परमेश्वर राय तथा ब्रम्हाण गोर्छारी परिक्षा केन्द्रका केन्द्राध्यक्ष रामभजन साहलाई निष्कासन गरेको छ ।
दुवै केन्द्राध्यक्षमाथि निजी विद्यालयका शिक्षकहरुलाई परिक्षा निरीक्षकमा राखेको र परिक्षार्थीहरुलाई चिट चोरी गर्ने वातावरण सृजना गराएको आरोप लागेको छ । पशुपति आदर्श माध्यमीक विद्यालयका प्रधानाध्यापक समेत रहेका केन्द्राध्यक्ष परमेश्वर रायलाई २०७२ सालको एसएलसी परिक्षाको क्रममा यही आरोप लगाई केन्द्रबाट निष्काशन गरिएको थियो । २०७२ सालमा कारबाही परेपछि रायलाई जिल्ला परिक्षा समन्वय समितिले २०७३ को एसइइ परिक्षामा केन्द्राध्यक्ष नियुक्ति गरेको थिएन ।
यस्तै, जिल्लाका अन्य तीन वटा परिक्षा केन्द्रका केन्द्राध्यक्षलाई सचेत गराइएको छ । यसैगरी निमित्त प्रजिअ भट्टराईकै टोलीले परिक्षामा परिक्षार्थीलाई चिट चोर्न सहयोग गरेको भन्दै ब्रह्माण गोर्छारी परीक्षा केन्द्रमा खटिएका परीक्षा निरीक्षक गौरीनारायण यादवलाई पनि निष्कासन गरेको जिशिअ महतोले जानकारी दिए । निष्कासन गरिएको स्थानमा शुक्रबारदेखि अर्को केन्द्राध्यक्ष र निरिक्षकले परीक्षा सञ्चालन गर्ने जिशिअ महतोले बताए ।
यस वर्षको एसइई परीक्षामा जिल्लाका ७६ सामुदायिक र ५७ संस्थागत विद्यालयसहित १३३ विद्यालयका परीक्षामा सिरहाबाट नियमीततर्फ नौ हजार २८४ र एक्जाम्टेडतर्फ ५९३ गरी नौ हजार ८७७ परिक्षार्थी सहभागी छन् ।
सञ्चारकर्मीलाई केन्द्रमा पस्न रोक निजि विद्यालय र केन्द्राध्यक्षको मिलोमतोमा अमर्यादित बन्दै गएको परिक्षा प्रणालीको बारेमा वर्षेनी समाचार लेख्दै आएका सिरहाका सञ्चारकर्मीहरुलाई यसपालि परिक्षा केन्द्र प्रवेश गर्न रोक लगाइएको छ । निजि विद्यालयले सञ्चारकर्मीका कारण परिक्षार्थीहरुलाई परिक्षा दिन अफ्ठ्यारो भइरहेको गुनासो एक हप्ताअगाडि जिल्ला परिक्षा समन्वय समितिसमक्ष गरेपछि समितिले पहिलो दिनको परिक्षामा सञ्चारकर्मीहरुलाई केन्द्रमा पस्न रोक लगाएको थियो ।
निजि विद्यालयको आग्रहमा सञ्चारकर्मीहरुलाई परिक्षा केन्द्रमा प्रवेश गर्न नदिएको कारणले सिरहामा मिलोमतोमै परिक्षा अमर्यादित बनिरहेको कुराको थप पुष्टि भएको नेपाल पत्रकार महासंघ सिरहा शाखाले दावी गरेको छ । महासंघ सिरहा शाखाका अध्यक्ष दिनेश्वर प्रसाद गुप्ताद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा परिक्षाको क्रममा सँस्थागत विद्यालयका सञ्चालक हरुले स्थानीय प्रहरी, प्रशासन, जिल्ला शिक्षा कार्यालयका कर्मचारीहरु तथा केन्द्राध्यक्ष हरुलाई रकमको मोलतोलबाट मिलाई परिक्षालाई अमर्यादित बनाएको हुँदा सो कार्यलाई बाहिरिन नदिन सञ्चारकर्मीहरु लाई परिक्षा केन्द्रमा प्रवेश गर्न नदिएको आरोप लगाइएको छ ।
--
Posted By मार्गानुगामी राष्ट्रिय दैनिक to Marganugami Daily at 3/22/2018 09:01:00 PM
No comments:
Post a Comment