सिरहा, १५ चैत्र । माध्यमिक शिक्षा परीक्षा (एसईई) लाई मर्या्दित बनाउन सिरहाको ब्राह्मण गोर्छारी केन्द्रमा जडान गरिएको सीसी क्यामेरा परीक्षार्थी फुटाइदिएका छन ।
चिट चोरी गर्न समस्या भएपछि कक्षाकोठामा जडान गरिएको ६ सीसी क्यामेरा फुटाइएको हो । परीक्षार्थीले सीसी क्यामेराका तारहरू पनि चुडाइदिएको केन्द्राध्यक्ष राजलाल रायले जानकारी दिए । उनका अनुसार परीक्षा दिन प्रवेश गरेका परीक्षार्थीले प्रहरीकैं सामुन्ने जडान गरिएको सीसी क्यामेरा फुटाएको र तारसमेत चुाडाएका थिए ।
केन्द्रमा खटिएका लहानका प्रहरी निरिक्षक जुगेश्वर राउतले आफूहरू गेटमा परीक्षार्थीलाई चेकजााच गरिरहेका क्रममा सीसी क्यामेरा फुटाएकाले पछिमात्र थाहा पाएको जानकारी दिए । परीक्षालाई मर्यादित बनाउन वडाध्यक्ष गणेश चौधरीले ६० हजार रुपैयाामा सीसी क्यामेरा जडान गरेका थिए । 'प्रहरीकै सामुन्ने सीसी क्यामेरा फुटाइएको छ, वडाध्यक्ष चौधरीले भने, 'सीसी क्यामेरा फुटाएको घटनाले परीक्षा कस्तो हुँदै छ थाह हुन्छ ।
केन्द्राध्यक्ष निष्कासित केन्द्राध्यक्षकैं कमजोरीका कारण जिल्लामा बिहीबारबाट सुरु भएको एसईई मर्यादित हुन सकेको छैन । एसईईको चौथो दिनसम्म सिरहामा २ केन्द्राध्यक्षसहित ३ निरिक्षक निष्काशनमा परेका छन । परीक्षार्थीलाई चिट चोराउन सहयोग गरेको भन्दै परीक्षा अनुगमन टोलीले चन्द्रउदयपुर मावि केन्द्रबाट परीक्षा निरीक्षक यमुना राउत र सोनवर्षा मावि केन्द्रका परीक्षा निरीक्षक शैलेश यादवलाई पक्राउ गरिएको छ । यसअघि निमित्त प्रजिअ सोमनाथ भट्टराईकै टोलीले परीक्षामा परीक्षार्थीलाई चिट चोर्न सहयोग गरेको भन्दै ब्राहमण गोर्छारी परीक्षा केन्द्रमा खटिएका निरीक्षक गौरीनारायण यादवलाई पनि निष्कासन गरेको जिल्ला शिक्षा अधिकारी महेन्द्र महतोले जानकारी दिए ।
यसअघि पहिलो दिन अंग्रेजी विषयमा जिल्ला परीक्षा समन्वय समितिले दिएको निर्देशन पालना नगरेको भन्दै निमित्त प्रजिअ भट्टराईको नेतृत्वको अनुगमन टोलीले लहानस्थित पशुपति आदर्श माध्यमिक विद्यालयका केन्द्राध्यक्ष परमेश्वर राय र ब्राहमण गोर्छारी केन्द्रका केन्द्राध्यक्ष रामभजन साहलाई निष्कासन गरेको थियो ।
दुवै केन्द्राध्यक्षमाथि निजी विद्यालयका शिक्षकहरूलाई परीक्षा निरीक्षकमा राखेको र परीक्षार्थीहरूलाई चिट चोरी गर्ने वातावरण बनाएको आरोप लगाइएको छ । पशुपति आदर्श माविका प्रधानाध्यापकसमेत रहेका केन्द्राध्यक्ष परमेश्वर रायलाई २०७२ सालको एसएलसी परीक्षाको क्रममा यही आरोप लगाई केन्द्रबाट निष्काशन गरिएको थियो । २०७२ मा कारबाही परेपछि रायलाई जिल्ला परीक्षा समन्वय समितिले २०७३ को एसईई परीक्षामा केन्द्राध्यक्षबाट वञ्चित गरेको थियो ।
जिल्लाका अन्य ३ केन्द्रका केन्द्राध्यक्षलाई समेत अनुगमन टोलीले सचेत गराएको छ । पक्राउ परेका परीक्षा निरीक्षकहरूलाई शिक्षा ऐनअन्तर्गत कारबाही गरिने जिशिअ महतोले जानकारी दिए । यसैगरी मावि पडरिया थारुटोल परीक्षा केन्द्रबाट विज्ञान विषयको प्रश्नको उत्तर लेखिएको कापी २० थानसहित प्रहरीले राम एकवाल साहलाई पक्राउ गरेको छ ।
--
Posted By मार्गानुगामी राष्ट्रिय दैनिक to Marganugami Daily at 3/30/2018 09:16:00 PM
No comments:
Post a Comment