सिरहा, १६ फागुन । घरेलु तथा साना उद्योग कार्यालय लहानका प्रमुख राजेन्द्रकुमार लाल कर्णलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस लिँदालिँदै बुधबार साँझ पक्राउ गरेको छ ।
प्रमुख कर्ण लहानस्थित ग्रामीण चोकमा रहेको सरकारी निवासबाट घुससहित पक्राउ परेका हुन् । सेवाग्राहीबाट लिएको दुई लाख रुपैयाँ घुससहित प्रमुख कर्ण पक्राउ परेको अख्तियार कार्यालय इटहरीका एसपी किसन सिंह थापाले जानकारी दिए । उनका अनुसार कर्णले मानव अधिकार तथा वातावरण विकास केन्द्र (होरेन्डेक) लहानबका एक कर्मचारीबाट घुस लिएका हुन् ।
होरेन्डेकलाई गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम दिएको छ । होरेन्डेकका एक कर्मचारीले भने, 'कार्यक्रमका लागि घरेलुले ६० लाख बजेट छुट्याएको छ । तत्काल २० प्रतिशत रकम निकासा दिएपछि प्रमुख कर्णले कमिशन माग्दै आएका थिए । कुल बजेटको १० प्रतिशत कमिशन मागिएको उनको भनाइ छ ।
कर्णले आफूलाई फसाएको प्रतिक्रिया दिएका छन् । उनले भने, 'मैले रकम मागेकै थिइनँ । जर्बजस्ती रकम दिएर गएपछि अख्तियारको टोली आएर समात्यो । ६ वर्षदेखि घरेलुमा काम गरेका कर्णले आफू निर्दोष रहेको दाबी गरेका छन् । अधिकृत कर्ण आउंदो जेठमा अवकास पाउंने भएको छ ।
--
Posted By मार्गानुगामी राष्ट्रिय दैनिक to Marganugami Daily at 2/28/2018 07:56:00 PM
No comments:
Post a Comment