मणिलाल विश्वकर्मा
लहान, १७ माघ । सिरहाको लहान नगरपालिका–२२ जहदीका करिव एक सय घर दलित परिवारले गाउँब्लक र ऐलानी जग्गामा बसोबास गर्दै आएको पुस्तौं बित्यो । झुपडी बनाएको जग्गा पनि आफ्नो स्वामित्वमा नभएकाले वस्तीका प्रायः सबै दलितहरुले हरुवा–चरुवा र कृषि मजदुरको काम गरेर जीविका चलाइरहेका छन् । कमजोर आर्थिक अवस्था भएका त्यही दलित परिवारका महिलाहरूले बचत समूहमार्फत् सामूहिक माछापालन गर्न थालेपछि भने आर्थिकरूपले आत्मनिर्भर बन्दै गएका छन् ।
वस्तीका २८ जना दलित महिला 'लक्ष्मी हरुवा–चरुवा महिला बचत समूहमा आवद्ध छन् । समूहमा आवद्ध महिलाहरूले ५ साउन ०७३ मा लहान नगरपालिका २२ नं. वडा कार्यालयबाट तीन वर्षका लागि एक लाख पाँच हजार रुपैयाँमा पोखरी ठेक्कामा लिएर माछापालन गर्न थालेपछि उनीहरूको आर्थिक स्तर बढेको छ । ठेक्का पाएपछि चार पटक भुरा हालिएको पोखरीबाट छ पटक माछा निकालेर बिक्री गर्दा एक लाख ३० हजार रुपैयाँ आम्दानी भएको समूहकी अध्यक्ष रामरती रामले बताइन् । पाँच का क्षेत्रफलको पोखरीमा पालिएको माछा प्रायः चाडपर्वको समयमा निकालेर समूहका सदस्यलाई बाँडिने र बाँकी बिक्री गर्ने गर्दै आएका छन् । 'माछा खान मन लागेको समयमा सदस्यहरुलाई बाँड्दा पनि पहिलो वर्षमै फाइदा भयो । समूहकी सचिव ललिता रामले भनिन् । उनका अनुसार माछा बिक्रीबाट आएको रकममध्ये ५५ हजार रुपैयाँ समूहका सदस्यलाई कम ब्याजमा लगानी गरिएको छ भने बाँकी रकम बैंकमा बचत गरिएको छ ।
समूहमा आवद्ध महिलाहरू मासिकरूपमा बैठक बसेर समूहका सदस्यहरूको साह्रोगाह्रो, सामुदायिक तहमा हुने विभिन्न गतिविधिबारे पनि छलफल गर्दछन् । उनीहरूले प्रत्येक बचत पनि गर्दै आएका छन् । 'त्यसरी बचत गर्दा फजुल खर्च समेत कम हुँदै गएको छ, समूहकी कोषध्यक्ष कल्याणीदेवी रामले भनिन, 'अप्ठ्यारो पर्दा समूहकै रकम झिकेर काम चलाउन सकिने अवस्था बनेको छ ।
--
Posted By मार्गानुगामी राष्ट्रिय दैनिक to Marganugami Daily at 1/31/2018 09:06:00 PM
No comments:
Post a Comment