/ Undifined / [Marganugami Daily] बजेटमा पक्षपात गरेको विषयमा नगरसभा वहिष्कार

[Marganugami Daily] बजेटमा पक्षपात गरेको विषयमा नगरसभा वहिष्कार

कमलेश यादब
सिरहा, १२ माघ । लहान नगरपालिकाका नगर प्रमुख मुनि साहले आफ्नो दल इतरका राजनीतिक दलबाट विजयी भएका वडा अध्यक्षहरुको वडास्तरीय बजेटमा पक्षपात गरेका भन्दै दुई दलका जनप्रतिनिधिहरुले नगरसभा बहिष्कार गरेका छन् ।
लहान नगरपालिकाको विहीवार सम्पन्न नगरसभामा नेपाली काङ्ग्रेस र सङ्घीय समाजवादी फोरमबाट निर्वाचित १३ वटा वडा अध्यक्ष र एक कार्यपालिका सदस्यसहित ५९ जना नगरसभाका सदस्यहरुले नगरसभा बहिष्कार गरेका छन् । २४ वटा वडा रहेको लहान नगरपालिकामा नगर प्रमुख र उपप्रमुख, सबै वडाका निर्वाचित वडा अध्यक्ष र वडा सदस्य तथा कार्यपालिका सदस्यमा बाहिरबाट निर्वाचित तीन जना कार्यपालिका सदस्य गरी १२५ जना नगरसभाका सदस्यहरु छन् ।
वहिष्कार गरेका नगरसभा सदस्यहरुको तर्फबाट नेपाली काङ्ग्रेसबाट निर्वाचित वडा अध्यक्ष कन्हैया प्रसाद गुप्ता तथा सङ्घीय समाजवादी फोरमबाट निर्वाचित वडा अध्यक्ष राकेश गुप्ताले शुक्रबार पत्रकार सम्मेलन गर्दै नगर प्रमुख मुनि साहले काङ्ग्रेस तथा फोरमबाट निर्वाचित वडाहरुमा अनेक बहाना बनाएर वडा स्तरीय योजनाको शीर्षकमा अत्यन्त कम बजेट विनियोजन गरेकोले आफूहरुले बाध्य भ ई नगरसभा बहिष्कार गर्नुपरेको जानकारी दिए ।
पत्रकार सम्मेलनमा गुप्ताद्वयले नगर प्रमुख साहले वाम गठबन्धनबाट निर्वाचित भएका वडा अध्यक्षहरुको ११ वटा वडामा २५ लाखदेखि ६५ लाख रकम विनियोजन गरेको र काङ्ग्रेस र फोरमबाट निर्वाचित भएका वडा अध्यक्षहरुको १३ वटा वडामा पाँच लाखदेखि २० लाखसम्म बजेट विनियोजन गरेको गुनासो गरे ।
यसैगरी, नगर कार्यपालिकाको निर्णयविना नै नगर प्रमुख साहले खुट्टीमा बाँध निर्माण गरेको, नगरपालिकाका विभिन्न समितिमा ज्वाई र आफूसम्बद्ध दलका प्रतिनिधिलाई मात्र राख्ने गरेको तथा नगरपालिकासँग सम्बन्धित प्रमाणित कागजात वडा अध्यक्षले माग्दा पनि नदिने गरेको गुनासो गरेको छ । पत्रकार सम्मेलनमा गुप्ता द्वयले कमिशन लिई भ्रष्टाचार गर्ने उद्देश्यले नगर प्रमुख साहले आफूसम्बद्ध वडा अध्यक्षहरुको वडामा बढी रकम विनियोजन गरेको आरोप लगाएको छ ।
नगर प्रमुख मुनि साहले आफूले गर्न लागेको विकासको कामदेखि आत्तिएर नेपाली काङ्ग्रेस र सङ्घीय समाजवादी फोरमका नेताहरुले आफूमाथि षडयन्त्र गरेको बताए । 'दुर्गम तथा विकासको पहुँच नपुगेको वडाहरुमा बढी रकम विनियोजन गरेको हुँ, नगर प्रमुख साहले भने–सबै सुविधा भएको, बजारी क्षेत्र भएको र नगरस्तरीय योजना भएको वडा नं. ६ र ७ लाई भने पाँच÷पाँच लाख छुट्याएको हो । उनले काङ्ग्रेस र फोरमले जितेको वडाहरुमा नगरस्तरीय योजना परेकोले वडास्तरीय योजनामा कम रकम विनियोजन गरेको जानकारी दिंदै प्रतिष्पर्धी दलहरुले विरोधका लागि विरोध गर्ने काम मात्रै गरिरहेको आरोप लगाए ।


--
Posted By मार्गानुगामी राष्ट्रिय दैनिक to Marganugami Daily at 1/26/2018 08:36:00 PM

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment