सिरहा, ४ पुस । दुई नम्बर प्रदेशमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र संघीय समाजवादी फोरम नेपालको बन्ने मधेश सरकारको पहिलो क्याबिनेट बैठकबाटै मधेश आन्दोलनका सहिद परिवारलाई ५० लाख दिने दाबी गरिएको छ ।
राजपा र फोरम दुबै दलका विधायकहरुले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले घोषणा गरे बमोजिम मधेश आन्दोलनका सहिद परिवारलाई ५० लाखका दरले रकम दिइने दाबी गरेका छन् । संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष एवं दुई नम्बर प्रदेशका मुख्य मन्त्रीका दाबेदारका लालबाबु राउतले भने, 'मधेश–थरुहट आन्दोलन का शहीदलाई पैसाले तौल्नु हुँदैन । हामी पैसामात्र होइन अन्य धेरै सम्मान गर्छौं ।
यता राजपाका सचिव एवं दुई नम्बर प्रदेशका विधायक उपेन्द्र महतोले मधेश सरकार बनेको खण्डमा पहिलो क्याविनेट बैठकबाटै शहीद परिवारलाई ५० लाख दिने निर्णय आउने बताए । उनले भने, 'हाम्रो सरकार बने पहिलो क्याविनेट बैठकबाटै मधेश आन्दोलनका शहीदहरुको सम्मान हुन्छ । सबै शहीद परिवार लाई ५० लाख दिइनेछ । राजपा बाट महतो पनि मुख्य मन्त्रीका दाबेदार मानिएका छन् ।
यता राजपाका अर्का सचिव सुरेश मण्डलले पनि मधेश आन्दोलनका शहीदहरुलाई मधेश सरकार बन्ने बित्तिकै ५० लाख दिइने बताए । शहीद परिवारलाई दिइने पैसा कहाँबाट आउँछ भन्ने प्रश्नमा मण्डलले भने, 'मधेश सरकारसँग किन पैसा हुँदैन? शहीद परिवारलाई दिन मधेश सरकारसँग त्यति पनि पैसा हुँदैन र तत्कालीन संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले २०७२ भदौ २ गते प्रेस विज्ञप्ति जारी गर्दै तेस्रो मधेश आन्दोलनमा मारिनेहरुलाई ५० लाख दिने घोषणा गरेको थियो ।
आन्दोलनपछि बन्ने प्रादेशिक सरकारले मधेश–थरुहट आन्दोलनमा ज्यान गुमाउने परिवारलाई ५० लाख दिने र शहीद परिवारलाई निःशुल्क शिक्षा र स्वास्थ्यको व्यवस्था गर्ने विज्ञप्तिमा उल्लेख थियो। मोर्चाको उक्त निर्णयको चर्को आलोचना भए पनि ५० लाखको नारा स्थानीय, प्रतिनिधि र प्रदेश सभामा पनि उत्तिकै रुपमा सुनियो । शहीदलाई ५० लाख रुपैयाँ दिने घोषणाको व्यवस्थापिका संसद बैठकमा गैरमधेशी दलका सांसदहरुले आपत्तिसमेत जनाएका थिए । सभामुखले गृहमन्त्रीसँग यसबारे जानकारी समेत मागेकी थिइन् ।
अहिले दुई नम्बर प्रदेशमा तत्कालीन मधेशी मोर्चामा आवद्ध दलहरुको सरकार बन्ने करिब निश्चित भएको छ । तत्कालीन मधेशी मोर्चाका एक संघीय समाजवादी फोरम र बाँकी अन्य घटक राष्ट्रिय जनता पार्टी
(राजपा) मा समाहित छन् । उक्त निर्णयमा फोरम अध्यक्ष उपेन्द्र यादव, तमलोपाका तत्कालीन अध्यक्ष महन्थ ठाकुर (हाल राजपा) र तत्कालिन सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो (हाल राजपा) लगायतका नेताहरु को हस्ताक्षर छ ।
रोचक के छ भने मधेशी दलका नेताहरुले शहीद परिवारलाई ५० लाख दिने भने पनि केन्द्र सरकारले बनाउने खर्च निर्देशिकाले नै त्यसमा अन्तिम निर्णय गर्नेछ । अन्यथा यो विषयले चर्को राजनीतिको बहस जन्माउने निश्चित छ ।
--
Posted By मार्गानुगामी राष्ट्रिय दैनिक to Marganugami Daily at 12/19/2017 09:27:00 PM
No comments:
Post a Comment