सर्लाही, २ पुस । सर्लाहीको बागमती नगरपालिकाले शनिबार ८२ जना सुत्केरी महिलालाई पोषण भत्ता वितरण गरेको छ ।
छोरा जन्माउने महिलालाई ३ हजार रुपैयाँ र छोरी पाउने महिलालाई ५ हजार रुपैयाँका दरले पोषण भत्ता वितरण गर्न सुरु गरिएको नगरपालिका प्रमुख भरत कुमार थापाले जानकारी दिए । स्थानीय तहको निर्वाचनपछि पदभार ग्रहण गरेलगत्तै बसेको नगरकार्य समितिको बैठकले गरेको निर्णय अनुसार शनिबार पहिलोपटक नगरपालिकाको १२ वटै वडाका ८२ जना सुत्केरी महिलालाई पोषण भत्ता वितरण गरिएको हो ।
जिल्लामै पहिलो प्रयास स्वरुप सुत्केरी महिलाले पोषणको अभाव झेल्नु नपरोस भनेर आफूहरुले यस्तो अभियानको सुरुवात गरेको नगरपालिका प्रमुख थापाले बताए । अझै पनि समाजमा छोरा र छोरीबीचमा विभेद भैरहेको बताउँदै नगरप्रमुख थापाले भने, 'हामीले यो अभियानको सुरुवात गरेपछि यस्तो विभेदमा कमी आउने र चेतना अभिवृद्धि हुने अपेक्षा गरेका छौँ । सुत्केरी महिलालाई पोषण भत्ता वितरण गर्दै नगरप्रमुख थापाले आफ्नो कार्यकालभरी यो अभियानलाई निरन्तर रुपमा अघि बढाउने प्रतिवद्धता जनाए ।
समाजमा विद्यमान छोरा र छोरीबीचको विभेद तथा छोरी जन्मदा सुत्केरी महिला अपहेलित हुनुपर्ने कारण पनि आफूहरुले छोरा र छोरी जन्माउने सुत्केरीलाई फरक–फरक भत्ताको व्यवस्था गरेको नगरपालिकाकी उपप्रमुख लिलाकुमारी मोक्तानले बताए । नेपाल सरकारले स्वास्थ चौकीमा प्रसुती गराउने महिलालाई हिमाली जिल्लामा १ हजार ५ सय, पहाडी जिल्लामा १ हजार र तराईमा ५ सय दिने व्यवस्था छ ।
--
Posted By मार्गानुगामी राष्ट्रिय दैनिक to Marganugami Daily at 12/17/2017 09:40:00 PM
No comments:
Post a Comment