/ , , , , , / खिरौनामा चर्पी निर्माण कार्य सक्न लाग्यो

खिरौनामा चर्पी निर्माण कार्य सक्न लाग्यो


बद्री नारायण यादव सिरहा, २४ भाद्र । नेपाल रेडक्रस सोसाइटी सिरहा र एसएनभी नेपालले खुल्ला दिशामुक्त अभियान अन्तर्गत सिरहा नगरपालिका १४ खिरौनामा गर्दै आएको सहजीकरणको प्रभावमा त्यहाँ चर्पी निर्माण कार्य अन्तिम चरणमा पुग्न लागेको छ । धेरैले चर्पी बनाइसकेका छन् भने बाँकी थोरै घरधुरीमा बन्ने क्रममा रहेका छन् ।
खासगरी दलित बस्तीहरुमा चेतना अभावका कारण यस्ता अभियानमा उनीहरुको त्यति चासो हुँदैन् तर खिरौनाको दलित बस्तीमा पनि यो अभियान भने लहर लिएको छ । दलित समुदायका व्यक्तिहरु धमाधम चर्पी बनाइरहेका छन् । उनीहरुको चेतना स्तरमा बृद्धि पनि भएका छन् । चर्पीको महत्व नबुझ्ने उनीहरु पछिल्लो समयमा चर्पीको प्रयोग तथा त्यसको महत्वबारे जोसँग पनि कुरा गर्न पछि नपर्ने गरेको प्रत्यक्षदर्शीहरुले बताएकाछन् ।
गएको तीन महिना अघिको अनुभव सुनाउदै तपसी पासमानले भने,‘खुल्ला रुपमा शौच गर्नुपदा प्रहरी र लोकलाजबाट कसरी बच्ने चिन्ता भइरहेको थियो ।’ उनले भने, ‘तत्कालिन अवस्थामा पैसाको अभाव थियो । अरुसँग ऋण, सापट गरेरै भएपनि चर्पी बनाए ।’ अब सबैखाले चिन्ता दुर भएको उनले सुनाए । चर्पी बनाउने इच्छा धेरै पहिला देखि थियो, उनले भने ।
बैदेशिक रोजगारीमा गएको संजय पासमानले राम्रो काम नपाएर घर फर्के तर उनले पनि चर्पी बनाए । संजयसँग पनि पैसाको अभाव थियो तर सामुदायमा चर्पी निर्माण कार्यको लहर छाडेन, उनलाई । चर्पी निर्माणमा सामुदायको सक्रियता देखेर हतार–हतारमा पैसाको बन्दोवस्त गरी पक्की चर्पी बनाए ।
चर्पीको भुईँ निर्माण बर्षौ अघि भएको थियो, मनोज पासमानको घरमा । मनोज आफै बैदेशिक रोजगारमा गएको हुनाले कार्य सम्पन्न भने हुन सकेको थिएन् तर बैदेशिक रोजगारबाट फर्किना साथ स्नान घर सहित दुई कोठे पक्की चर्पी बनाए । बैदेशिक रोजगारबाट फर्केको मनोजको चार महिना भएको छ । चर्पी पक्की छन् तर बस्ने घर भने फुसकै हो । चर्पी निर्माणमा १ लाख २० हजार खर्च भएको उनले भने ।
‘सबैथोक पैसा छैन्,’उनले भने,‘पैसा भन्दा कैऔं गुणा मूल्य इज्जतको हो ।’ चर्पी निर्माण कार्य सम्पन्न गर्न नसक्दा आफुलाई पीडा भइरहेको थियो, उनले सुनाए । चर्पी निर्माण पछि त्यसको नियमित प्रयोगले लोकलाजबाट बच्नुका साथै घर वरपर सफा देखिएका छन् । स्वच्छ वातावरण निर्माणमा चर्पीको नियमित प्रयोगले महत्वपूर्ण सहयोग पुग्ने गरेको उनले थपे ।
रिङ्ग मात्र गाड्न सकेका महिन्द्र पासमानले भने,‘आर्थिक अभाव भएको हुनाले चरणबद्ध रुपमा चर्पी निर्माण कार्य अघि बढाइरहेको छु ।’ अबको केही दिनमा चर्पी निर्माण कार्य सम्पन्न भइहाल्ने उनले प्रतिबद्धता व्यक्त गरे । महिन्द्र जस्तै अरु धेरै व्यक्तिले त्यसरी रिङ्ग गाडेर अधुरो चर्पी बनाएर काम रोक्का गरेका छन् जसलाई संस्थाले सुचारु गराउनुपर्ने हुन्छ । ६ सय ५० घरधुरी मध्ये ५ सय ५० मा चर्पी निर्माण भइसकेको र बाँकीमा निर्माण भइरहेको तथ्यांकले देखाएको छ ।
कार्यक्रमको सुरुवाती अवस्थामा काम गर्न सकिन जस्तो लाग्थ्यो स्थानीय सरसफाई प्रज्वलक रुपक मण्डलले बताए । चर्पीको महत्व तथा निर्माणको प्रक्रियाबारे बुझाउनै समस्या भइरहेको थियो उनले भने । उनका अनुसार सामुदायका व्यक्तिहरु अनुदानको मुख ताकेर बसिरहेका थिए तर परिश्रम गर्दै गर्दा विस्तारै समस्या सहज हुँदै गयो जसको प्रतिफल अहिले राम्रो परिणाम आएको छ ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment