८२ हजार कर्मचारीमा २० हजार पनि छैनन् महिला
काठमाडौं, २१ भदौ । महिलाहरु राष्ट्रपति, प्रधानन्यायाधीश र सभामुखसम्म बनेको खुबै चर्चा छ । तर, निजामति कर्मचारी संगठनतिर फर्केर हेर्ने हो भने महिलाको प्रतिनिधित्व निकै नाजुक देखिएको छ । नेपाल सरकारको सचिव तहमा एकजना पनि महिला छैनन् । र, तत्कालै सचिव बन्ने लाइनमा पनि कोही महिला देखिँदैनन् ।निजामति कर्मचारी दिवसको सन्दर्भ पारेर अनलाइनखबरले गरेको एक अनुसन्धानमा निजामति कर्मचारीभित्र महिलाको उपस्थिति यस्तो देखियोः

निजामति किताब खानाले उपलब्ध गराएको विवरणअनुसार निजामति सेवामा करिब ८२ हजार ४ सय ९६ जना कर्मचारी कार्यरत छन् । त्यसमध्ये ६६ हजार ५ सय ७५ जना पुरुष कर्मचारी छन् भने महिला कर्मचारीको संख्या १५ हजार ९ सय २१ छ । निजामति सेवामा महिलाको उपस्थिति १९।३ प्रतिशत मात्र छ ।
लोकतन्त्र स्थापनापछि निजामति सेवामा सबैको समान सहभागिताका लागि राज्यले समावेशी सिद्धान्त आत्मसाथ गरेको छ । त्यसपछि लोकसेवाले लिने हरेक परीक्षामा महिलावीचमात्र प्रतिस्पर्धाका लागि आरक्षण कोटा नै छुट्याइएको छ । त्यसपछि महिलाको संख्या तुलनात्मक बृद्धि भए पनि सन्तोषजनक पाइँदैन ।
निजामति सेवा अन्तरगत तल्ला अर्थात खरदार देखी अधिकृत तहमा महिलाको संख्यामा बृद्धि भएको किताबखानाको तथ्यांकले देखाउँछ । तर, नीतिगत सुधारमा भूमिका खेल्न सक्ने उपसचिवदेखि माथिका तहमा भने महिला कर्मचारीको संख्या निकै कमजोर छ ।
६० सचिवमा महिला संख्या शून्य
मुख्यसचिवसहित नेपाल सरकारका सचिवको संख्या ६० छ । तर, त्यसमध्ये एकजना पनि महिला छैनन् । सचिवबाट यसअघि जीवनप्रभा लामाले अवकाश पाएपछि महिला सचिव बन्न सकेका छैनन् । त्यसअघि विन्दा हाडा भट्टराई सचिव थिइन् । उनी अहिले लोकसेवा आयोगको सदस्य बनेकी छिन् ।
राष्ट्रपति, प्रधानन्यायाधीश र सभामुखसम्म महिला पुग्न सफल भए पनि मुख्य सचिवमा आजसम्म महिलाहरु पुग्न सकेका छैनन् । लीलामणि पौडेललाई मुख्य सचिव बनाउने बेलामा सचिव विन्दा हाडा भट्टराईले मुख्य सचिवको दाबी गरेकी थिइन् ।
सहसचिवको संख्या ५५९
निजामति सेवामा सचिवपछिको पद हो, सहसचिव । सहसचिवले महाशाखा र विभागको नेतृत्व गरेर काम गर्नपर्ने हुन्छ । निजामतिमा सहसचिवको संख्या ५ सय ५९ जना रहेको छ । तर कुल संख्यामा महिला सहसचिवको संख्या भने निकै न्युन छ । महिला सहसचिवको संख्या जम्मा २९ जनामात्र रहेको छ ।
निजामति सेवामा सचिव बन्नका लागि बरिष्ठताक्रमलाई मुख्य आधार मानिन्छ । र, त्यसैअनुसार बरिष्ठहरुवीच कार्यमूल्यांकनका आधारमा सचिवका लागि सिफारिस गरिन्छ । तर, सहसचिवहरुको रोलक्रममा महिला सहसचिवहरुको नामावली निकै पछाडि छ । कम्तिमा अब दोस्रो चरणसम्मसम्म सचिव बढुवा हुँदा पनि महिला सहसचिवले सचिवको दावा गर्ने गरी नामावली रोलक्रममा भेटिँदैन ।
राजपत्रांकित प्रथम श्रेणी अर्थात सहसचिव पद सरकारको गाडी सुविधा पाउने तह हो । सरकारी सेवा सुविधा नियमावलीअनुसार निजामतिका सचिव र सहसचिवले मात्रै राज्यबाट गाडी सुविधा पाउँछन् ।
एउटा सहसचिवको मासिक तलब ४० हजार १ सय ५० रुपैँया हुन्छ । र, सहसचिव भएको हरेक बर्ष ग्रेड जोडिँदै सात ग्रेडसम्म जोडिन्छ । सहसचिवले एक ग्रेड बराबर १ हजार ३ सय ३८ रुपैया पाउँछन् ।
उपसचिव ३४८०
सहसचिवपछिको पद हो उपसचिव । निजामतिमा उपसचिवको संख्या ३ हजार ४ सय ८० रहेको छ । त्यसमध्ये पुरुषको संख्या ३ हजार २ सय ९९ छ भने महिला उपसचिवको संख्या १ सय ८१ जना मात्र छ ।
अहिले उपसचिवको मासिक तलब ३४ हजार २ सय २० रुपैयाँ छ । यसमा उसको ८ ग्रेडसम्म जोडिन्छ । एक ग्रेड बराबर १ हजार १ सय ४१ छ । उपसचिवलाई राजपत्रांकित द्वितीय श्रेणी भनिन्छ ।
निजामति सेवाभित्र उपसचिवको भूमिका बिशेष गरी कार्यालय प्रमुखको रुपमा रहन्छ । यस्तै महाशाखामा सहसचिवपछिको भूमिकामा रहेरसमेत उपसचिवले काम गरिरहेका हुन्छन् । विशेष गरी गृहमन्त्रालयअन्र्तगत अधिकांश जिल्लाहरुमा उपसचिवहरुले प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी लिएर काम गरिरहेका छन् ।
स्थानीय विकासअन्र्तगतको स्थानीय विकास अधिकारीकारुपमा पनि उपसचिव नै रहने गर्छन् । यस्तै जिल्ला शिक्षा अधिकारीका रुपमा पनि उपसचिव तहकै कर्मचारी खटिएका हुन्छन् । सहसचिवको पूरक भूमिकामा समेत उपसचिवहरु रहन्छन् ।
शाखा अधिकृतको संख्या १०२६३
निजामति सेवाभित्र शाखा अधिकृतको संख्या करिब १० हजार २ सय ६३ छ । नयाँ कर्मचारीको भर्ना भइरहने र पुराना कर्मचारीले राजीनामा वा अवकाश पाउने क्रम भइरहने भएकाले यो संख्या घटबढ भइरहन्छ । सरकारले विशेष गरी शाखा अधिकृतलाई साना कार्यालयहरुको कार्यालय प्रमुखको रुपमा खटाउँछ । यस्तै उनीहरु उपसचिवको पूरक भूमिकामा समेत काम गर्छन् । कुल अधिकृतको संख्यामध्ये महिला अधिकृतको संख्या एक हजार ८० जना मात्र रहेको छ । बाँकी ९ हजार १ सय ८३ जना पुरुष छन् ।
सरकारले अधिकृतको मासिक तलब ३० हजार ५ सय तोेकेको छ । ग्रेडसहित उनीहरुको तलब ३८ हजार ३ सयसम्म पुग्छ । शाखा अधिकृतले एक ग्रेड बराबर १ हजार १७ रुपैयाँ पाउँछन् ।
राजपत्र अनंकित प्रथम श्रेणी (नायब सुब्बा)
निजामति प्रशासनमा राजपत्र अनंकित प्रथम श्रेणी भनेको नायव सुब्बाको पद हो । यो तहको कर्मचारीको संख्या देशभरि १६ हजार १ सय ९४ छ । त्यसमध्ये महिलाको संख्या जम्मा २ हजार १ सय ७३ जनामात्र रहेको छ । पुरुषको संख्या भने १४ हजार २१ जना रहेको छ ।
नायक सुब्बाको मासिक तलब राज्यले २३ हजार ५ सय तोकेको छ । तर, ग्रेड समेत जोड्दा मासिक ३१ हजार ३ सय ३० सम्म तलब पाउँछन् । उनीहरुले प्रतिग्रेड ७ सय ८३ रुपैँया पाउँछन् भने ग्रेड संख्या १० रहेको छ ।
राजपत्र अनंकित द्वीतीय श्रेणी (खरदार)
निजामति सेवाभित्र नायव सुब्बापछिको पद हो, खरदार । निजामति सेवामा कार्यकारी भूमिकामा रहेको सबैभन्दा सानो पदसमेत मानिन्छ यसलाई । निजामति सेवामा खरदार तहका कर्मचारीको संख्या ११ हजार ४ सय ३६ छ । त्यसमध्ये महिलाको संख्या २ हजार २ सय ९५ मात्र छ । पुरुषको संख्या ९ हजार १ सय ४१ छ ।
खरदारका लागि राज्यले २२ हजार १ सय ७० रुपैँया तलबमान तोकेको छ । प्रतिगेड ७ सय ३९ रुपैँयाका दरले १० ग्रेड जोड्दा उनीहरुको तलब २९ हजार ५ सय ६० सम्म पुग्छ ।
राजपत्र अनंकित तृतीय श्रेणी (मुखिया )
निजामति सेवाभित्र मुखिया पदका लागि भर्ना बन्द भइसकेको छ । तर, यसअघि नै भर्ना लिइएका उक्त तहको कर्मचारीको संख्या १ हजार ३८ जना छ । उनीहरुको जिम्मेवारी कार्यालय सहयोगी भएर काम गर्नु हो । उक्त तह अर्थात मुखियामा महिलाको संख्या १ सय ६ जनामात्रै छ । उनीहरुको मासित तलब १८ हजार ३ सय ४० रुपैयाँ छ ।
श्रेणी विहीन
निजामति सेवाभित्र श्रेणी विहीन कर्मचारी ९कार्यालय सहयोगी, ड्राइभर, पीएन०को संख्या १८ हजार ४ सय ९४ जना रहेको छ । उनीहरुको जिम्मेवारी कार्यालय सरसफाइ, सचिव, सहसचिव लगायतलाई चिया कफी बनाउने, फाइल ओसार(पसार गर्ने लगायत हो । यी पदहरुमा महिलाको संख्या १ हजार ४ सय मात्र रहेको छ । बाँकी १७ हजार ५६ जना पुरुष छन् । उनीहरुको तलब १७ हजार देखि ३२ हजारसम्म छ । अनलाइनखबर
No comments:
Post a Comment