/ , , , , , , / ५२ वर्षपछि कृष्ण जन्माष्टमीमा यस्तो संयोग

५२ वर्षपछि कृष्ण जन्माष्टमीमा यस्तो संयोग

भाद्र ०८  । कृष्ण जन्माष्टमी पर्व भगवान्  श्रीकृष्णको जन्मोत्सव हो । योगेश्वर श्रीकृष्णले पवित्र ग्रन्थ श्रीमद् भगवद्गीतामा गर्नु भएको उपदेशले अनादि कालदेखि नै सनातन परम्पराका जनमानसलाई जीवन दर्शन प्रस्तुत गरेको छ । जन्माष्टमी पर्व नेपालमा मात्र होइन, छिमेकी मुलुक भारतलगायत देशविदेशमा छरिएर बसेका सनातन हिन्दू धर्मावलम्बीले पूर्ण आस्था र निष्ठाका साथ उल्लासमय वातावरणमा मनाउने गर्दछन् । भगवान् श्रीकृष्णको अवतार भाद्र महिनाको कृष्ण पक्षको अष्टमी तिथि रहेको अवसरमा मध्यरात्रिको समयमा आफ्नै मामा कंसको विनाश गरी धराधामलाई अन्यायी र पाखण्डीहरूबाट मुक्त तुल्याउनका लागि भारतवर्षको मथुरामा आजभन्दा करिब ६ हजार वर्ष पहिले द्वापर युगको अन्त्यमा भएको थियो । भगवान् विष्णुको सम्पूर्ण सोह्रवटै कलाले युक्त भई पृथ्वीमा अवतरित भएका कृष्णको जन्मदिन भएकाले कृष्ण जन्माष्टमीलाई विशेष उत्सवका रूपमा मान्ने प्रचलन सुरु भएको विश्वास गरिन्छ ।

यस अवसरमा परम्परा अनुसार बिहानै उपत्यकाको पाटन स्थित कृष्ण मन्दिरमा भक्तजनहरुको भिडभाड हुने गर्दछ। पूजा आराधना गर्नका लागि उपत्यकालगायत आसपासका ठाउँहरूबाट हजारौं दर्शनार्थीको घुइंचो लाग्ने गर्छ । यस पर्वको मुख्य उत्सव भारतको उत्तरप्रदेशमा पर्ने मथुरास्थित श्रीकृष्णजन्मभूमि, द्वारकाधीश मन्दिर र वृन्दावनको बाँके बिहारीको मन्दिरमा हुने गर्दछ । त्यसबाहेक सनातन हिन्दूधर्मावलम्बीको बसोबास रहेको प्रत्येक गाउँ, सहर र बस्तीमा रहेको कृष्णमन्दिरमा विशेष भजनकीर्तन र पूजाआजाका साथमा यो पर्व मनाउने चलन छ  । यस दिन खासगरी दिनभरि भजनकीर्तन र व्रत सम्पादन गर्ने चलन छ, राती १२ बजे कृष्ण मन्दिरमा पूजाअभिषेक हुन्छ र पञ्चामृत पान गरेर व्रत उद्यापन गर्ने प्रचलन छ ।


श्रीकृष्ण जन्माष्टमीको रातलाई मोहरात्री पनि भन्ने गरिन्छ । यस रात्रीकालमा योगेश्वर श्रीकृष्णको भक्तिभाव र ध्यान गर्दै नामसङ्कीर्तन वा मन्त्रजाप गर्दै जागरण गर्नाले यस मर्त्यलोकरूपी भवसागरको मायामोहको नाश हुन्छ, सांसारिक आशक्ति हट्दछ भन्ने मान्यता छ । जन्माष्टमीको व्रतलाई व्रतराज भन्ने गरिन्छ । यस दिन विधिविधानले व्रत सम्पादन गर्नाले अनेकानेक व्रत लिई प्राप्त हुने समस्त पुण्यलाई प्राप्त गर्न सकिन्छ ।


विष्णुभक्तिको महत्त्व

१। विष्‍णु पुराणका अनुसार जसले भगवान् विष्‍णु प्रसन्न रहुन् भन्ने चाहना राख्दछ र उनको कृपाको पात्र हुन चाहन्छ, उसले परनिन्दा गर्नु हुँदैन ।

२। भगवान् विष्णुलाई प्रसन्न तुल्याउन चाहनेले आफूले प्राप्त गरेको धनवैभव र सम्पत्तिमा सन्तुष्टि गर्नु पर्दछ, परद्रव्य र परस्त्रीप्रतिको आकर्षणलाई सदैव त्याग गर्न सक्नुपर्दछ । लोभ, कृपणता र मोहका कारण हुने पापको प्रायश्चित्त भगवान् विष्णुको भक्तिआराधनाबाट प्राप्त गर्न सकिन्छ ।

३। परस्‍त्रीप्रतिको आशक्ति र गुरुजन, देवता आदिप्रतिको अनादरभावले विष्णुभक्तिबाट टाढा हुत्याउने गर्दछ र त्यसो गर्ने व्यक्तिसँग भगवान् विष्णु कहिल्यै प्रसन्न हुनुहुन्न ।

४। जसले जालसाजी, ठगी र बेइमानीको आश्रय लिने गर्दछ, त्यसले यसै जन्ममा र बाँकी भएमा अर्को जन्ममा पनि दण्डको भागी हुनुपर्दछ, तिनले जन्मजन्मान्तरसम्म विष्णुभक्तिको अनुकूलता प्राप्त गर्न सक्दैनन् ।

५। चराचर जगतमा रहेका समस्त जीवहरूप्रति दयाभाव राख्नु मनुष्यमात्रको कर्तव्य हो । कुनै पनि जीवको हत्या गर्नु वा तिनलाई पीडा दिनु हुँदैन र कसैप्रति पनि आशक्ति वा मोहभाव राख्नु हुँदैन । आफ्नो र पराइको भावना तथा शत्रुभाव राख्ने मनुष्यले कृष्णभक्ति गर्न सक्दैन ।

भगवान् विष्णुको आठौं अवतार

भगवान श्रीकृष्णलाई व्यापकताका प्रतीकका रुपमा वैदिक कालदेखि प्रतिष्ठित भगवान् विष्णुका मुख्यमुख्य दसवटा अवतारमध्ये आठौं अवतार मानिन्छ । सनातन धर्मका धर्मग्रन्थ र वेदरपुराणमा रहेका कथा र महात्म्यअनुसार कृष्णावतार भगवान् विष्णुको पूर्णावतार हो अनि उक्त धार्मिक आख्यानअनुसार भगवान् विष्णु सर्वपापहारी पवित्र र समस्त चराचर जगत् तथा मनुष्यलाई भोग र मोक्ष प्रदान गर्ने प्रमुख देवता हुन् । भगवान् विष्णुका प्रमुख २४ वटा अवतारको चर्चा अधिकतम पौराणिक आख्यानहरूमा प्राप्त हुन्छ, तीमध्ये श्रीराम र श्रीकृष्णको अवतारलाई मुख्य अवतार मान्ने गरिन्छ, साथै रामकथा र कृष्णकथा लोक जीवनको महत्त्वपूर्ण पाटो बनेको छ । अझ भगवान् विष्णुका समस्त सोह्रवटै कलाको पूर्णतम अवतार श्रीकृष्णको अवतारलाई मान्ने गरिन्छ । श्रीकृष्णको जन्म आततायी कंसको कारागारमा भाद्रपद कृष्ण अष्टमी, बुधबारका दिन मध्यरात्रिमा रोहिणी नक्षत्रमा देवकी तथा वसुदेवको पुत्रका रूपमा भएको थियो। कंसले आफ्नो मृत्युको भयले आफ्नै बहिनी देवकी र ज्वाइँ वसुदेवलाई बन्दी बनाएको थियो ।

श्रीकृष्ण प्रकट हुने समयमा घनघोर वर्षा हुँदै थियो, आकाशमा फिंजारिएका कालाकाला बादल र कृष्णपक्षको अँधेरी रातका कारण उक्त समयमा चारैतिर गहिरो अन्धकार व्याप्त थियो । पिता वसुदेव र माता देवकीलाई राजा कंसले फलामे साङ्लोले बाँधेर कठोर यातनाका साथमा कारागारको अँध्यारो कोठामा कडा पहरेदारीमा बन्दी बनाएका बेला भगवान् प्रकट हुनुभएको थियो । श्रीकृष्णले अवतार लिनासाथ वसुदेव र देवकीका फलामे साङ्ला आफैं खुस्किए, बन्दीगृहको ढोका खुले, प्रहरी मूर्च्छित भए र वसुदेवलाई आफ्नो शिशुको सुरक्षा गर्ने अनुकूलता प्राप्त भयो । यस्तो अवसरलाई उपयोग गर्दै वसुदेवले श्रीकृष्णलाई एउटा डालोमा राखी यमुना नदीको पारीपट्टि पर्ने गोकुल गाउँमा आफन्तकहाँ पुर्याउने विचार गरी अघि बढे । भदौको बर्खेभेलले यमुनामा बाढी आएको थियो । आकाशबाट वर्षा भइरहेको थियो ।

भगवान् विष्णुका पूर्णावतार श्रीकृष्णले आफ्नो जलराशिमा प्रवेश गरेको चाल पाएर यमुना नदीले आफ्नो फैलावटलाई खुम्च्याईन्, अनि उनलाई सुरक्षा गर्न स्वयं शेषनागले टोकरी माथि आफ्ना फणा फिंजाएर छाताको काम गरे । जसैतसै वसुदेवले गोकुलमा रहेको नन्दगोपको घरमा श्रीकृष्णलाई पुर्याए, त्यहाँ नन्दकी पत्नी यशोदाले त्यसैदिन एउटी कन्या जन्माएकी थिईन् ।

जन्मकालपछि प्रसव वेदनाको छटपटीमा उनी बेहोस भएर ढलेकी थिईन्, त्यसै समयमा वसुदेवले श्रीकृष्णलाई यशोदाका छेउमा राखिदिए र तिनकी छोरी लिएर तुरुन्त कारागारमा फर्किए । उनी आउनासाथ कारागारका ढोका बन्द भए, साङ्लाले वसुदेव, देवकीलाई पहिले जसरी नै आफैं बाँधे । सिपाहीहरू ब्युँझिए । कंसलाई देवकीको सन्तान भएको खबर पुर्याए । यसअघि वसुदेवरदेवकीका सातवटा सन्तान उत्पन्न हुँदा मारे झैं कंस ती कन्यालाई पनि मार्न तम्सियो ।

ती कन्याको खुट्टामा समातेर आकाशमा फनफनी घुमाएर उसले पृथ्वीमा बजारेर फाल्यो, तर ती कन्या आकाशमा पुगिन् र नवदुर्गा भगवतीको आकृतिमा प्रकट हुँदै आकाशवाणि गरिन् — तेरो शत्रु गोकुलमा जन्मिसकेको छ, तेरो आयु र वैभव उसैका हातबाट नाश हुनेछ । श्रीकृष्ण गोकुलमा रहेको थाहा पाएर कंसले कृष्णको हत्या गर्न अनेक प्रपञ्च गर्यो । तर ती सबै विफल भए । अन्त्यमा भगवान् श्रीकृष्णले मथुरामा उसकै दरबारको रङ्गशालामा आएर उसको इहलीला समाप्त पारिदिनु भयो र उसको अत्याचारबाट धराधामलार्इ मुक्त तुल्याउनु भयो ।

पुराण र इतिहासमा श्रीकृष्णको अत्यधिक चर्चा हुनुका केही तथ्यहरू

भगवान श्रीकृष्णले बहुचर्चित महाभारतको युद्धमा अर्जुनलाई कायरता त्यागी वीरता प्रदर्शन गर्न, विषाद त्यागी प्रसन्न हुन र अकर्मण्यता त्यागी कर्मयोगी हुन श्रीमद्भगवद्गीताका माध्यमबाट दिव्य सन्देश प्रदान गर्नु भएको थियो ।

यमुना नदीको ठूलो क्षेत्रमा स्वामित्व गरी आसपासका कृषक, गोठाला र जनमानस एवं पशुधनमा विषसञ्चरण गरी वितण्डा मच्चाउने कालीय नागलाई वशमा पारी त्यसको फणामा उभिएर नृत्य गर्ने व्यक्तित्व भगवान् श्रीकृष्ण नै हुनुहुन्थ्यो ।

दुर्योधनको मानसम्मान र वैभवलाई तिरस्कार गर्दै दासीपुत्र ज्ञानी विदुरलाई आतिथ्य प्रदान गर्ने अनुकूलता दिनुका साथै विदुर पत्नीले दिएको सागपात खाएर छाक टारेको वृत्तान्त पनि भगवान् श्रीकृष्णसँग सम्बद्ध रहको छ ।

वर्षाका देवता इन्द्रको सेखी झार्न र समस्त ग्वालबाल एवं व्रजक्षेत्रलाई बाढी र भेलको प्रकोपबाट राहत प्रदान गर्न सात वर्षको कलिलो उमेरमा नै सात कोशको आयत भएको गोवर्द्धन पर्वतलाई उचालेर छाताका रुपमा स्थापित तुल्याउने काम पनि गिरिधारी श्रीकृष्णले नै गर्नु भएको हो ।

एउटा सफल र चलाख कुटनीतिज्ञका रुपमा पनि भगवान् श्रीकृष्णको चर्चा हुन्छ । भीम र दुर्योधनको गदायुद्धका क्रममा भीमलाई प्रोत्साहन गर्दै आफ्ना तिघ्रा ठटाउँदै दुर्योधनको कमजोर अङ्गको सङ्केत गरेको वृत्तान्त श्रीकृष्णको चलाखी र धूर्त्याइँको बखान गर्ने क्रममा आउने गर्दछ ।

परिस्थिति अनुसार धैर्य, साधुभाव, मित्रता, साहसीपना आदि विविध लीला भगवान् श्रीकृष्णको एउटै जीवनमा घटित भएको देखिन्छ । जस्तै माखनचोरी, रासलीला, विभिन्न दैत्य र असुरहरुको बाल्यावस्थामा नै बध, १७ पटकसम्म कालयवनबाट पराजित हुनु, शिशुपालको अभद्र व्यवहारलाई लामो समयसम्म भोग्नु आदि भगवान् श्रीकृष्णका जीवनीसम्बद्ध घटना हुन् ।

महाभारत युद्धमा हतियार नउठाउने वाचा गरेका श्रीकृष्णले अर्जुनको सारथी बनेर पाण्डवहरुलाई महाभारतको सङ्ग्राममा विजयी तुल्याउनु भयो ।

मित्रधर्मको निर्वाह गर्दै दीनहीन, विपन्न ब्राह्मण सुदामाको थोत्रो पोकामा राखेका चिउराका कनिकालाई मीठो मानी खाएको र प्रतिफलमा सुखसम्मृद्धि, वैभव र राज्यलक्ष्मी प्रदान गरेको प्रसङ्ग पनि श्रीकृष्णसित नै जोडिएको छ ।

विभिन्न पुराणहरू र धार्मिक ग्रन्थमा कृष्णाष्टमीको निर्णय 

पुराणहरूमा उल्लेख गरेबमोजिम कृष्णाष्टमी दुई किसिमका हुन्छन् – जन्माष्टमी र श्रीकृष्ण जयन्ती । स्कन्द पुराणमा लेखिएअनुसार जसले ज्ञान भएर पनि कृष्णाष्टमीको व्रत लिने गर्दैन, उसले अर्को जन्ममा जङ्गली सर्प वा बाघ भएर जन्मनु पर्दछ । त्यस्तै ब्रह्मपुराणले भन्दछ – कलियुगमा  भाद्र महिनाको कृष्णपक्षको अष्टमीमा २८ औं युगमा देवकीपुत्र भगवान् श्रीकृष्णको उत्पत्ति भएको हो । यस दिन दिउँसो र राती दुबै समयमा अष्टमी तिथि छैन भने खास गरी रोहिणी नक्षत्र परेको दिन रात्रीकालमा व्रत सम्पादन गर्नु पर्दछ । यसरी नै भविष्य पुराणको वचन छ – श्रावण महिनाको शुक्लपक्षमा कृष्ण जन्माष्टमी पर्व पर्दछ । जसले यस दिन व्रत लिंदैन, त्यो क्रूर राक्षस हुन्छ । विष्णुरहस्यादिको वचनअनुसार कृष्णपक्षको अष्टमी रोहिणी नक्षत्रले युक्त भई भाद्र महिनामा परेमा त्यसलाई जयन्ती भन्नु पर्दछ ।

वशिष्ठ संहिताको मत छ – यदि अष्टमी तिथि र रोहिणी नक्षत्रको संयोग अहोरात्र ९दिन र रात दुबै समयमा० हुन सकेन भने मुहूर्तभरिका लागि रोहिणी नक्षत्र जहिले हुन्छ, त्यस दिन उपवास राख्नु राम्रो हुन्छ । मदन रत्नमा स्कन्द पुराणबाट उद्धृत गरी लेखिएको वचन छ – अर्द्धरात्रीको समयमा रोहिणी नक्षत्रमा जब कृष्णाष्टमीको संयोग हुन्छ, त्यस दिन भगवान् श्रीकृष्णको पूजा र अर्चना गर्नाले तीन जन्मदेखि सञ्चित पापराशिको नाश हुन्छ । त्यस्तै महर्षि भृगुले बताएका छन् – जन्माष्टमी र शिवरात्री यी दुबै पर्व यी पूर्वविद्धा हुनु पर्दछ, तिथि र नक्षत्रको अन्त्यमा उपवास गर्नु हुँदैन । यसरी कृष्णाष्टमीका प्रसङ्गमा जेजस्तो भए पनि अष्टमी तिथि र रात्रीकालको विशेष महत्त्व देखिन्छ र त्यसै तिथि र समयमा आधारित भई व्रत सम्पादन गर्नु उचित हुन्छ । यदि उक्त तिथि रोहिणी नक्षत्रले युक्त भएमा उक्त पर्व जयन्तीका नामले सम्बोधित हुनजान्छ र उक्त जयन्ती परेको अवसरमा अझ प्रयत्नका साथमा व्रत लिने प्रयास गर्नु पर्दछ ।

५२ वर्षपछिको संयोग

आगामी २०७३ साल भाद्र ०९ गते तदनुसार २५ अगस्ट २०१६ का दिन यस पटकको श्रीकृष्णष्टमी पर्व मनाइँदैछ । यस पटकको कृष्ण जन्माष्टमीका दिन ५२ वर्षपछि एउटा अनौठो संयोग जुरेको छ ।  यो संयोग ठ्याक्कै त्यस्तो संयोग छ, जुन भगवान् श्रीकृष्णले जन्म लिंदा परेको थियो । यस पटक उदयकालमा नै अष्टमी तिथि रहेको छ, जुन मध्यरात्रीको समयसम्म व्याप्त रहने छ । त्यस दिन रोहिणी नक्षत्रको संयोग पनि छ । श्रीकृष्णको जन्म भदौ महिनाको कृष्णपक्षको अष्टमी तिथिका दिन, बुधवार, रोहिणी नक्षत्र र बृष राशिमा चन्द्रमाको उपस्थिति रहेको समयमा भएको थियो । यस पटक यसरी बारबाहेक अरु सबै पक्ष भगवान् श्रीकृष्णको जन्मकालसँग मेल खाने गरी सिर्जना भएका छन् ।


पञ्चाङ्ग निर्णायक समितिले प्रकाशन गरेको पात्रोबमोजिम बुधबार भाद्र ०८ गते मध्यरात्रीपछि १२ बजेर ५४ मिनेटपछि अष्टमी तिथि प्रारम्भ हुन्छ र बिहीबार, भाद्र ०९ गते राती १० बजेर ३१ मिनेटसम्म कायम हुन्छ । शास्त्र बमोजिम रात्रीकालको पाँच भागको तेस्रो भागमा पर्ने सम्पूर्ण समयावधि मध्यरात्री हुन्छ । त्यसैले बिहीबार अष्टमी तिथि समाप्त हुँदा मध्यरात्री रहेको मान्न सकिन्छ । उता कृतिका नक्षत्र बिहीबार, भाद्र ०९ गते दिउँसो ०३ बजेर २५ मिनेटमा समाप्त हुन्छ र रोहिणी नक्षत्र प्रारम्भ हुन्छ । अतः यस पटकको कृष्ण जन्माष्टमी र भगवान् श्रीकृष्णको प्राप्त जन्मविवरणको अधिकतम संयोग यस पटक परेर अन्य वर्षभन्दा बढी पुण्यप्रद र फलदायक भएको छ । बुधबारका भाद्र ०८ गतेको मध्यरात्रीको लगत्तैपछि अष्टमी तिथि प्रारम्भ हुने तथा अक्षांश र देशान्तर रेखबाट तिथि र नक्षत्रको आगमन ठाउँअनुसार फरकफरक समयमा हुने भएकाले नेपाल र भारतका विभिन्न स्थानमा यस पर्वलाई कतिपयले एक दिनअघि नै कृष्णाष्टमी पर्व मनाउने सम्भावना पनि देखिंदैछ । तर बिहीबार भाद्र ०९, २०७३ का दिन नै कृष्णाष्टमी पर्व मनाउनु शास्त्रसम्मत र उपयुक्त हुने ठहरिन्छ ।


जन्माष्टमी व्रतविधि

श्रीकृष्ण जन्माष्टमीको मुख्य पूजाआराधना भाद्रकृष्णाष्टमीको मध्यरात्रीमा हुने गर्दछ । यस अवसरमा उपवास, कृष्णपूजा, जागरण, स्तोत्र पाठ एवं कृष्णका जीवनीसम्बद्ध कथा सुन्ने र वाचन गर्ने चलन छ । व्रतका दिन प्रातःकालमा स्नानादि नित्यकर्मबाट निवृत्त भएर पूजासामाग्री तैयार गरी दीप, कलश र गणेशको पूजापछि व्रतालुले सूर्य, सोम ९चन्द्र०, यम, काल, दुवै सन्ध्या ९प्रातःकालिक एवं सायंकालीन ०, पञ्चमहाभूत, दिन ९दिवाकाल०, क्षपा ९रात्रीकाल०, पवन, दिक्पालं, भूमि, आकाश, खचर एवं देवताहरुको आह्वान गर्नुपर्छ ।

आफ्नो हातमा जलपूर्ण तामाको घडा लिई  फलफूल, पुष्प
, अक्षता, भेटी, तिलानीको पानी समातेर सङ्कल्प गर्नुपर्छ । सङ्कल्प गर्दा आफ्ना जन्मजन्मान्तरमा जानेर वा नजानी गरिएका समस्त पापकर्म नाश होऊन्, यस जन्ममा सुखसम्मृद्धि र सुस्वास्थ्य प्राप्त भई जन्मान्तरमा सायुज्यमुक्ति प्राप्त होस् भन्ने कामनाका साथमा गर्नुपर्छ । त्यसपछि देवकीको पुत्रका रुपमा भगवान् श्रीकृष्णको जन्म हुन्छ भन्ने ठानेर उनका लागि प्रसूतिगृहको निर्माण गर्नुपर्छ, जसमा जलपूर्ण शुभ पात्र, आँपका पात, मुजुरा, फूलका माला ९सकेसम्म वैजयन्ती फूलको माला० र अन्य पुष्पमाला चढाउनु पर्दछ । धूपबाती सल्काउनु पर्छ ।

त्यस्तै श्रृङ्गारका सामाग्री र षष्ठिका देवीको प्रतिमा पनि त्यहाँ राख्ने चलन छ । मिथिलाञ्चलमा घर र घरका भित्ताभित्तामा चारैतिर देवीदेउताको प्रतिमा अङ्कित चित्र बनाउने प्रचलन छ । ती चित्रमा वसुदेव ९हातमा तरवार लिएका०, देवकी, नन्द, यशोदा, गोपगोपीं, कंस, रक्षक, यमुना नदी, कालिय नाग, वृन्दावन र गोकुलका घटनासम्बद्ध दृश्यचित्र आदि निर्माण गर्ने चलन छ । प्रसूति गृहमा पर्दा र शैय्या ९ओछ्यान० तैयार गर्नुपर्छ । दिनभरि भजन, कीर्तनका साथमा निराहार व्रत गर्नुपर्दछ र साँझबितेपछि शुभ बारबेला र मुहूर्तमा पूजा प्रारम्भ गरी मध्यरात्रीमा उद्यापन गरी व्रत समापन गर्ने चलन छ । भोलिपल्ट भगवान् श्रीकृष्णको झाँकी बनाएर श्रीकृष्ण रथयात्रा गरी नगर वा ग्रामको परिक्रमा गरी विसर्जन गर्ने प्रचलन पनि छ ।
कृष्णप्रसाद कोइराला,  उप(प्राध्यापक पिण्डेश्वर क्याम्पस, धरान 

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment