/ , , , , , / भोटेकोसीमा भीषण बाढी आउनुको कारण तिब्बती क्षेत्रमा ुहिमताल विस्फोटनु

भोटेकोसीमा भीषण बाढी आउनुको कारण तिब्बती क्षेत्रमा ुहिमताल विस्फोटनु

काठमाडौं, २४ असार । सिन्धुपाल्चोकको भोटेकोसीमा मंगलबार राति भीषण बाढी आउनुको कारण तिब्बती क्षेत्रमा ‘हिमताल विस्फोटन’ भएको विज्ञहरूले बताएका छन्।

साधारण वर्षाले बाढी आउँदा नदीमा पानीको सतह विस्तारै बढ्छ। भोटेकोसीमा आएको बाढी भने केही मिनेटमै ह्वात्तै बढेको थियो। पानीमा गेग्रानसहितको लेदो पनि थियो। लेदोले वरिपरिका ठाउँमा दुर्गन्धसमेत फैलाएको थियो। यस्तो दुर्गन्धित लेदो सामान्यतया हिमताल फुट्दा आउने बाढीमा हुने जलउत्पन्न प्रकोप व्यवस्थापन विभागका वरिष्ठ भूगर्भविद् श्रीकमल द्विवेदी बताउँछन्।

हिमतालबाट आउने बाढीमा अध्ययन गरेका द्विवेदीका अनुसार लेदोयुक्त बाढी आउनुमा तीन कारण हुन सक्छन्। पहिलो, हिमाली क्षेत्रमा हिमनदीले माटोका साना कणदेखि ठूल्ठुला ढुंगासम्म जम्मा पारेर राखेको हुन्छ। यस्तो ठाउँमा घनघोर पानी पार्दा त्यही माटो ठूला ढुंगा, रुखपात समेतलाई बगाउँदै लेदो बन्छ र ग्रेगानका रूपमा तल्लो सतहमा बग्न थाल्छ। भारतको बद्रीकेदारनाथमा तीन वर्षअघि यही कारणले बाढी आएको थियो।

‘यसरी बाढी आउन तिब्बती क्षेत्रमा लामो समय घनघोर वर्षा हुनुपर्छ,’ द्विवेदीले बिहीबार सेतोपाटीसँग भने, ‘जाक्सा ग्लोबल रेनफल वाचले भू(उपग्रहबाट नापेको वर्षाको मात्रा हेर्दा पछिल्लो समय तिब्बती क्षेत्रमा १(२ मिलिमिटर प्रतिघन्टाको दरले मात्र पानी परेको देखिन्छ, जुन यस्तो भीषण बाढी ल्याउने क्षमताको होइन। त्यसैले, हिमनदी क्षेत्रमा ठूलो पानी परेर भोटेकोसीमा बाढी आएको हुन सक्दैन।’दोस्रो, कहिलेकाहीँ पहिरो गएर ठूला नदीहरू थुनिन्छन्। यसले नदीमा ताल बन्छ। यही ताल अकस्मात् फुट्दा यस्तै लेदोयुक्त बाढी आउनसक्छ। 

दुई वर्षअघि सिन्धुपाल्चोककै जुरे पहिरोले लगभग १२ घन्टा सुनकोसी नदी थुनेको थियो। थुनिएको ठाउँभन्दा तल्लो तटमा अलिअलि धमिलो पानी देखिए पनि नदी सुख्खा थियो। जब पहिरोले बनाएको बाँधभन्दा माथिबाट पानी बग्न थाल्यो, त्यसपछि बल्ल सुनकोसीको बहाव बढ्यो। नदीको बहावले आफैं बाँध खियाउन नसकेर पछि विस्फोट गर्नुपरेको थियो।

भोटेकोसीमा आएको यो बाढी पनि गत वर्ष सुनकोसीको जस्तै हुनसक्ने केहीको आँकलन छ। भूगर्भविद् द्विवेदी भने यसमा सहमत छैनन्।

‘जुरे पहिरो आउँदा भुइँचालोको तरंग उत्पन्न भएको थियो,’ उनले भने, ‘यसपालि भोटेकोसीमा बाढी आउनुअघि त्यस्तो तरंग उत्पन्न भएको छैन।’

राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले यसलाई पुष्टि गरे। उनका अनुसार जुरेमा पहिरो जाँदा त्यसको थर्काइले भूकम्पीय तरंग उत्पन्न गरेको थियो। उनका अनुसार प्रायः ठूल्ठुला पहिरो जाँदा यस्ता भूकम्पीय तरंग उत्पन्न हुनु सामान्य नै हो। 

चार वर्षअघि अन्नपूर्ण चौथो हिमाल नजिकबाट ठूलो हिमपहिरो खस्दा यस्तै तरंग रेकर्ड गरिएको थियो। यो हिमपहिरोले सेती नदीमा भीषण बाढी ल्याई जनधनको क्षति गरेको थियो। गत वर्ष म्याग्दीको नारच्याङमा आएको पहिरोले यस्तै तरंग ल्याएको थियो। यसपालि भोटेकोसीमा बाढी आउनुअघि भुइँचालोको सतही तरंग उत्पन्न नहुनुले यो बाढी पहिरोका कारण उत्पन्न नभएको द्विवेदी बताउँछन्। यी दुइटा कारणले बाढी ल्याएको होइन भने अब एउटै कारण बच्छ– यो हिमताल फुटेर आएको बाढी हो।

‘भोटेकोसी बाढीको प्रकृति हेर्दा हिमताल फुटेर आएको हुनसक्ने सम्भावना बढी छ,’ द्विवेदीले भने, ‘भोटेकोसीमा केही मिनेटमै पानीको बहाव ह्वात्तै बढेको छ, हिमताल नफुटी यति धेरै पानी एकैचोटि आउन सम्भवै छैन।’ 

जल तथा मौसम विज्ञान विभागका अनुसार भोटेकोसी नदीमा पाँच मिनेटभित्रै पानीको मात्रा एक सय घनमिटर प्रतिसेकेन्डबाट लगभग साढे ६ सय घनमिटर प्रतिसेकेन्ड पुगेको थियो। हिमाली क्षेत्रमा ताल फुटेको अवस्थामा मात्र पानीको मात्रा यति धेरै बढ्छ।

माथिल्लो क्षेत्रमा पहिरोले नदी थुनेर पछि खुल्दा पनि तल्लो तटीय क्षेत्रमा यस्तै बाढी आउँछ। भोटेकोसीको सन्दर्भमा भने पहिरो गएको पुष्टि हुँदैन। पहिरो गएको भए गत वर्ष जुरेमा जस्तै भूकम्पीय तरंग उत्पन्न भई केही समय नदी थुनिनुपर्थ्यो, जुन यसपालि भएन।

भोटेकोसी नदी सुरु भएको माथिल्लो तटीय तिब्बती क्षेत्रमा थुप्रै हिमताल रहेको भू(उपग्रह तस्बिरहरूबाटै देखिन्छ। करिब ३५ वर्षअघि तिब्बती क्षेत्रको जाङजाङ्बो हिमताल फुट्दा पनि भोटेकोसीमा यस्तै बाढी आएको थियो, जसले मितेरी पुल बगाएको थियो। यसपालि कुन हिमताल फुटेको हो भनी पत्ता लगाउन बाढी आएपछि खिचिएको भू–उपग्रह तस्बिर नै हेर्नुपर्ने द्विवेदी बताउँछन्। सेतोपाटी 

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment