रविन्द्र घिमिरे ,काठमाडौं, २१ असार । पछिल्लो समयमा उपभोक्ताहरु मासु पसल, होटल, रेष्टुरेन्ट र जुस पसलको सरसफाइबारे सचेत हुन थालेका छन् । तर, तपाईं दूध तथा दूग्धजन्य पदार्थ खरिदबिक्री गर्ने डेरी पसलको सरसफाइको अवस्थाबारे कतिको सचेत हुनुहुन्छ रु उपत्यकाका अधिकांश डेरी पसलले आफ्नो सरसफाइ र दूध तथा दुग्धजन्य पदार्थको शुद्धतामा खासै चासो नदिएको भेटिएको छ ।
सरकारले उपत्यकाका तीन जिल्लाभित्रका डेरी पसलहरुमा गरेको अनुगमनमा अधिकांशले सरसफाइ, दूग्ध सुरक्षा र शुद्धतामा हेलचक्र्याँइ गर्ने गरेको भेटिएको हो ।
पशुपन्छी विकास मन्त्रालयको कार्यक्रमअनुरुप केन्द्रीय गाई भैँसी प्रवर्द्धन कार्यालयले एक हप्ता लगाएर काठमाडौंका १४६ वटा साना डेरी पसलहरुको अनुगमन सकेको छ । यसक्रममा काठमाडौंका ५१, ललितपुरका ४३ र भक्तपुरका ५२ वटा डेरी पसलहरु छड्केमा परेका थिए ।
उपत्यकाका ७ प्रतिशत डेरी पसलमात्रै सरसफाइयुक्त रहेको पाइएको छ । १४६ डेरी पसल अनुगमन गर्दा ११ वटा डेरी पसलमात्रै सरसफाइ शुद्धताका हिसाबले ‘राम्रो’ वर्गमा राखिएको कार्यालयका प्रमुख बरिष्ठ पशुविकास अधिकृत रेशम ज्ञवालीले अनलाइनखबरलाई जानकारी दिए ।
‘८१ वटा पसलहरुलाई ‘मध्यम’ स्तरको बर्गीकरण गरिएको छ भने ज्यादै फोहोर र शुद्धतामा कमजोर भएका ५४ वटालाई ‘कमसल’को सूचीमा समावेश गरिएको छ,’ उनले भने ।
काठमाडौंका ७ र भक्तपुरका ४ वटा पसलहरु मात्रै राम्रो बर्गमा सूचीकृत भएका छन् । ललितपुरका एउटा डेरीले पनि सरसफाइका न्युनतम् मापदण्ड पूरा गरेको नभेटिएको कार्यालयका प्रमुख ज्ञावालीले जानकारी दिए ।
काठमाडौंका २० डेरी पसल ‘मध्यम’ मा सूचीकृत भएका छन् भने २४ पसललाई ‘कमसल’मा राखिएको छ । ललितपुरका २६ डेरी पसल ‘मध्यम’ बर्गमा परेका छन् भने १७ वटालाई न्यून स्तरको सूचीमा राखिएको छ ।
भक्तपुरमा ३५ वटा पसलले मध्यम स्तरको सरसफाइ कायम गरेको भेटिएको छ भने १३ वटाले सरसफाइमा अधीक हेलचक्र्याइँ गरेको टोलीले ठहर गरेको छ ।
‘एक महिनाभित्र पसलमा सरसफाइ शुद्धताका लागि आवश्यक पूर्वाधार राख्न समय दिएका छौं’ ज्ञवालीले भने( ‘उपभोक्ताको स्वास्थ्यमा असर पुग्ने गरी दूध तथा दूग्धजन्य पदार्थ बेच्न पाइँदैन ।’
उनले अबको एक महिनापछि ती सबै पसलमा फेरि अनुगमन गरिने र नसच्चिए कारवाही प्रक्रिया अघि बढाइने बताए ।
यसैगरी विभिन्न पसलहरुबाट दूधको नमूना लिएर परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको ल्यावमा पठाइएको छ । योबारे रिपोर्ट आएपछि काठमाडौंमा डेरीहरुमा बेचिने दूधको गुणस्तर कस्तो छ भन्ने पत्ता लाग्ने प्रमुख ज्ञवालीले बताए ।
अनुगमनमा भेटिएका तथ्य
१। अधिकांश पसलले न्यनतम् सरसफाइ र दूधको शुद्धता तथा सुरक्षामा ध्यान नदिएको पाइयो ।
२। धेरै पसलले डिस्प्ले हुने ठाउँलाई देख्दा सफाजस्तो बनाएका छन् । तर, दूध प्रोसेसिङ गर्ने ठाउँ, मेसिन र प्रयोग भएका भाँडा तथा उपकरणहरु सफा नगरेको देखियो ।
३। धेरै पसलहरु सफाइमा ध्यान नदिँदा अस्वभाविक रुपमा गन्हाएका थिए । तर, यसमा डेरी सञ्चालकसँगै किन्न आउने उपभोक्ताले पनि चासो नदिएको पाइयो ।
४। धेरै पसल कानुनअनुसार दर्ता पनि भएका छैनन् । मनलाग्दी तवरले खोलिएका पसलहरुमा बढी समस्या भेटियो ।
५। किराना तथा मरिदाका सामानसँगै राखेर पनि दूग्धजन्य पदार्थ बेच्ने गरेको पनि पाइएको छ । दूध संवेदनशील पदार्थ भएकाले यसोगर्दा शुद्धतामा असर पर्न सक्ने देखिएको छ ।
६। केही डेरीमा प्लाष्टिकको भाँडा नै प्रयोग गरेर दूध तथा दूग्धजन्य पदार्थको प्रोसेसिङ गरेको भेटियो । यो उपभोक्ताका लागि हानीकारक मानिन्छ ।
७। धेरै डेरी साँघुरो ठाउँमा सञ्चालन गरिएका छन् । सरसफाइमा ध्यान नदिँदा यस्ता पसलहरुले विक्री गरेका पदार्थहरुको शुद्धतामा प्रश्ज उब्जिएको छ ।
८। अधिकांश दूध पसल सञ्चालन गर्ने अधिकांशले डेरीफुड सम्बन्धी तालिम लिएको भेटिएन ।
९। अधिकांश डेरी पसलमा डीप(फ्रीज भए पनि त्यसमा निरन्तर चल्ने गरी बिजुलीको प्रवन्ध गरेको भेटिएन । दूध १५ डिग्री भन्दा धेरैको तापक्रममा राख्दा छिटै अम्लीलयकरण भएर जम्छ । बढी तापक्रममा ब्याक्टेरिया पनि उत्तिकै बढ्ने भएकाले दूध फ्रीजमा राख्नु अनिवार्य जस्तै हुन्छ । फ्रीजमा निरन्तर बिजुली नजोड्दा कोल्ड मेन्टेनमा डेरी पसलहरु कमजोर देखिएका छन् ।
१०। डेरीमा बस्नेहरुले हातमा पञ्जा, शरीमा एप्रोन लगायत लगाउने गरेको भेटिएन । यसबाट दूध तथा दूग्धज्न्य पदार्थमा बाहिरी संक्रमणको खतरा बढी हुन्छ ।
११। कतिपय पसलमा दूध तथा दूधजन्य पदार्थमा अस्वभाविक दरमा पानी तथा मिसावटयुक्त वस्तुहरु देखिए ।
१२। साना डेरी पसलले कहाँ कस्तो स्रोतबाबाट दूध ल्याउँछन् भन्ने पनि स्पष्ट छैन । ती दूध तथा दूग्धजन्य पदार्थको शुद्धता ल्यावको रिपोर्ट आएपछि मात्रै थाहा हुनेछ ।
No comments:
Post a Comment