मेन स्टि्रम मिडियाले मधेस आन्दोलनलाई सपोर्ट गरेको छ । मलाईचाँहि के
लाग्छ भने मधेस आन्दोलनको स्वरुप कहिलेचाँहि एकदमै इन्टिग्रेटेड भएर
जाने, कहिले डिसइन्टिग्रेट हुने । मधेसी नेताहरुको स्वाभाव र चरित्र पनि
त्यस्तै-त्यस्तै देखिएको छ ।
अहिले नै पनि मोर्चामा कोही कसैसँग सहमत हुने, कोही कसैसँग सहमत नहुने ।
अलि खुलेर बोल्नुपर्ने मान्छे चुप लाग्ने, जसको अलिकति क्रेडिबिलिटी छ, ऊ
चुप लाग्ने । अरु अगाडि बढ्न खोज्ने । आफैंभित्रको प्रतिस्पर्धा र
संघर्षजस्तो देखिन्छ बाहिरबाट हेर्दाखेरि ।
किनभनेदेखि आन्दोलनको जतिसुकै नाम लिए पनि त्यो आन्दोलनले पूर्णता
पाउनलाई अझै धेरै संघर्ष गर्नुपर्छजस्तो लाग्छ मलाई । अहिले स्पेस पाउन
त्यति सजिलो छैन । मधेसलाई स्पेस दिनका लागि जसरी गरिराख्नुभएको छ, त्यो
हिसाबले आउँछ जस्तो मलाई लाग्दैन । त्यो स्पेस आउँदैन । किनभने जुन
हिसाबले सत्ताले आफ्नो चरित्र देखाइराखेको त्यो चरित्रलाई हेर्दाखेरि जाल
झेल र कपट धेरै छ ।
अहिलेको सरकार परिवर्तनले, नेतृत्व परिवर्तनले अथवा समीकरण परिवर्तनले
वस्तुगतरुपमा चाहिँ खासै अन्तर गराउँछ जस्तो मलाई लाग्दैन । किनभने
नेपाली कांग्रेसले संविधान लेख्नेबेलामा मधेस आन्दोलनको सत्यलाई
रियलाइज्ड गरिदिएको भएदेखि यस्तै अवस्था आउने थिएन, योभन्दा अलि सजिलो
अवस्था आउँथ्यो । उसले त्यो गर्न सकेन ।
अब अहिले आएर यी सबै कुराहरु टुंगिइसकेपछि संविधान कार्यान्वयन हुन
नसक्ने अवस्थामा पुगिसकेपछि प्रदेशका लागि स्पेस दिन्छु भनेर हिँड्नुको
केही अर्थ पनि छैन । र, विश्वसनीयता पनि छ जस्तो मलाई लाग्दैन ।
त्यसोहुनाले मधेसको आन्दोलनमा खास गरेर नयाँ पिँढीका साथीहरुले जुन मेहनत
गर्नुभएको छ, त्यसलाई अझै बढी गति दिनुपर्ने आवश्यकता देखेको छु मैले ।
अब यो काठमाडौंकेन्दि्रत भनेर जुन आन्दोलन भयो, यसले अलिकति मिडियाहरुमा
पनि प्रभावकारिता देखाउन थालेको थियो । तर, मधेस आन्दोलन कहिले अगाडि
बढ्ने, कहिले पछाडि जानेजस्तो भइराखेको छ । तर, भ्रमचाँहि के हुन्छ भने
भित्रभित्र केही चाँहि पाकिराखेकोजस्तो हुन्छ । तर, पाक्न चाँहि केही पनि
पाकेको हुँदैन ।
यो अवस्थालाई चिर्नका लागि नेताहरुले बोल्नुपर्छ । र, नेताहरुले
नबोलेसम्म र अझै जोडदार ढंगले आफ्ना मागहरुका लागि वार्ता र संघर्ष
दुईटैलाई सँगसँगै अगाडि बढाउने हो भने मधेस आन्दोलन धेरै लामो चलाउनुपर्छ
जस्तो लाग्दैन ।
तर, समस्या के भइराखेको छ भने यो वार्ताचाँहि छलकारी भयो । वार्तामा
आउनोस् भन्यो, नेताहरु भन्नुहुन्छ, चिठी नै पाएको छैन, कसरी वार्तामा
आउने ? प्रधानमन्त्रीको कार्यालयले चिठी डिस्प्याच्ड गर्ने, नेताको घर वा
कार्यालयमा त्यो नपुग्ने भनेपछि पक्कै पनि त्यहाँ केही दह्रै खेल
भइराखेको छ ।
आन्दोलन टुरिष्टजस्तो पहाडमा घुमिराखेको छ: खगेन्द्र संग्रौला
Khagendra-Sangraula-2म पत्रकारिताकै बारेमा सानो टिप्पणी गर्छु । मधेस
आन्दोलन चलिरहँदा म तीन पटक मधेस गएको छु । आन्दोलनको प्रारम्भमा,
आन्दोलनको उत्कर्षमा र नाकाबन्दी भएपछि । तीनपटक मधेस जाँदा मैले के
देखें भने मधेस आन्दोलनको कठोर यथार्थलाई हाम्रो पत्रकारिताले
इमान्दारिताका साथ आत्मसाथ गरेन ।
आन्दोलनमा जहाँ पनि केही न केही उछृंखलता, केही न केही हिंसा हुन्छ । तर,
मधेस आन्दोलनको प्रकृति र सहभागिताको आकार हिंसात्मक वा आक्रामक थिएन ।
राज्यले त्यसमाथि यति जघन्य, यति आपराधिक ढंगले शक्ति प्रयोग गर्यो कि
त्यो शक्ति प्रयोग गरेकोमा हाम्रो मिडियाले इमान्दारितापूर्वक त्यो
समाचार दिएन । यदि प्रारम्भदेखि नै समाचार दिएको भए राज्यले त्यति नग्न र
क्रुर किसिमले तथाकथित राष्ट्रवादको नाममा आफ्ना नागरिकहरु मार्ने थिएन ।
यसको दुष्परिणाम के भो ? आन्दोलनकारीहरु हिंसाबाट बच्न, हिंसाबाट लखेटिएर
आन्दोलनकारीहरु नाकामा पुगे । नाका पुगेपछि भारत आयो । यसको दुष्परिणाम
दुईवटा भयोः आन्दोलनको नैतिक शक्ति कमजोर भयो, 'राष्ट्रवादी'हरुले मधेस
आन्दोलनलाई बदनाम गर्ने अवसर पाए । यी दुईवटा परिणामको जिम्मेवारी पनि
फेरि पत्रकारिताकै हो । पत्रकारिताले मधेस आन्दोलनको यथार्थलाई यो पक्ष
अथवा त्यो पक्षलाई वास्ता नगरिकन 'अब्जेटिभ्ली रिफ्ल्ेक्ट' गरिदिएको भए
अहिले जे परिणाम हामीले भोगिराखेका छौं, यो भन्दा धेरै फरक पर्ने थियो ।
यो संविधानले नेपाली समाजलाई द्वन्द्वको सुरुङमा प्रवेश गराएको छ । राज्य
र मधेसवीचको सम्बन्ध, शासकहरु र बहिस्करणमा परेकाहरुको अवस्था छिटै
सुल्भिmने, सम्हालिने म देख्दिँन । नेपाल लामो द्वन्द्वमा गएको छ ।
मधेस आन्दोलन पनि लामो द्वन्द्वमा छ भन्ने म अनुमान गर्छु । आन्दोलनमा
उतार हुन्छ, चढाव हुन्छ । थकान हुन्छ । कुनैबेला पराजयको भाव पनि होला ।
तर, आन्दोलन एक क्षणमा थाक्दैमा आन्दोलनले उठाएको न्यायको मुद्दा कहिल्यै
पनि थाक्दैन । एक दशकमात्र होइन, एक शताब्दि पनि रहन्छ । मधेसको हकमा पनि
यो कुरा सत्य हो ।
अब अहिले मधेस आन्दोलन पर्यटकका रुपमा पहाडका कुनाकानीमा घुमिरहेको छ ।
आन्दोलनको ठूलो आकार र ठूलो प्रभाव त छैन, तर मैले यसलाई एकदम सकारात्मक
रुपमा लिएको छ । यसले नेपाली समाजको मानचित्रका विभिन्न आयामहरुमा
आन्दोलनमा ऐक्यवद्धता बटुल्छ । मधेसी पहाडीका वीचमा घुलमेल हुन्छ । नजिक
भएपछि धेरै असमझदारीहरु बुझिन्छन् र हट्छन् ।
तर, मधेसी नेतृत्वले यो आन्दोलनलाई जीवन्त तुल्याउने हो भने आन्दोलनको
आधार भनेको त फेरि पनि मधेस नै हो । आन्दोलनलाई जिउँदो राख्ने, त्यसलाई
गति दिने, खुम्चेको आकारलाई बढाउने र त्यसको प्रभावकारी शक्ति बढाउने
भनेको मधेसी जनताको वीचबाटै हो भन्ने मलाई लाग्छ । यो कुरामा ध्यान
दिनुपर्छ ।
म त कम्युनिष्ट पाठशालामा हुर्केको, कम्युनिष्ट नै त होइन तर मार्क्सवादी
हुँ भन्छु । अहिले थरिथरिका कम्युनिष्टहरुको शासन छ हेर्नोस् । पाँच,
सात, आठ थरिका कम्युनष्टिहरुको शासन छ । माओवादीदेखि केवादीसम्म । तिनले
अझै पनि के गाइरहेका छन् भने 'मानिसहरुको अन्तरराष्ट्रिय जाति हुनेछ ।'
गीतमा, उसको नारामा 'मानिसको अन्तरराष्ट्रिय जाति हुनेछ' भनेर गाइरहेको छ
तर तथाकथित राष्ट्रवादका नाममा आफ्नो घरभित्र उसले शत्रु खोजेको छ ।
आफ्नो बन्धु मारिरहेको छ । यसको नेतृत्व अन्तरराष्ट्रवादी खड्गप्रसाद
ओलीले गरेका छन् ।
के कुरा सत्य हो भने खड्गप्रसाद सरकारको नेतृत्वमा रहुञ्जेलसम्म मधेस
आन्दोलनको नेतृत्वसँग न त गम्भीर, मर्यादापूर्ण र विश्वसनीय वार्ता
हुन्छ, न त समस्याको हल हुन्छ ।
खड्गप्रसाद त्यहाँबाट विस्थापित भएपछि को आउँछ, मलाई थाहा छैन ।
खड्गप्रसादभन्दा गतिलो आउँछ कि आउँदैन, त्यो पनि थाहा छैन । तर, भोलि
आउने खड्गप्रसादजस्तै अगतिलो हुन्छ भनेर खड्गप्रसादलाई जोगाइराख्ने त
होइन होला !
त्यसैले वास्तविक वार्ता हुनका निम्ति, सार्थक वार्ता हुनका निम्ति
इमान्दारपूर्ण र मैत्रीपूर्ण वार्ता हुनको निम्ति खड्गप्रसाद
बाहिरिनुपर्छ । हामीले यो विषयमा बोल्नुपर्छ भन्ने मलाई लाग्छ ।
मधेसले शान्त भएर काठमाडौंलाई बस्न दिँदैनः तुलानारायण साह
Tula narayan shaएकपटक हामीले १६ बुँदे सहमतिलाई सम्झौं न । त्यो सहमतिले
गल्ती गर्यो, ठीक होइन र त्यसले राम्रो नतिजा दिँदैन भन्ने पत्रकारहरु
त्यतिबेला कतिजना हुनुहुन्थ्यो ? कतिजना साथीहरुले लेख लेख्दाखेरि,
सम्पादकीय लेख्दाखेरि यो कुरालाई स्वीकार गर्नुभयो ? यो चाँहि विचार गरौं
भन्ने लाग्छ ।
अर्को कुरा के हो भने १६ बुँदे सहमतिले काठमाडौंलाई उत्साहित गरेकै हो ।
मधेस खिसि्रक्क हुँदाखेरि काठमाडौं उत्साहित भएको त सत्य हो नि त । म त
ती दिनहरु सम्भिmइरहेको छु कि एक से एक घघडान लेखकहरुले कसरी १६ बुँदे
सहमतिलाई समर्थन गरेका थिए ? समर्थनै डाइरेक्ट गर्नुपर्दैन, लवजले पनि
थाहा हुन्छ नि । १६ बुँदे सहमतिलाई सम्पादकीयमा कति महत्व दिइएको थियो र
त्यसको विरुद्धमा उठ्ने स्वरहरुलाई कति स्पेस दिएको थियो भन्ने फेरि
एकचोटि समीक्षा गर्ने बेला हो ।
हामी एक वर्षमा बैसाख २५ देखि असोज ३ सम्म र असोज ३ देखि आजसम्म हेर्दा
कुनै त्यस्तो दिन वा हप्ता रह्यो, जसमा मधेसले सोच्न बाध्य नपारेको होस्
काठमाडौंलाई ? यो पनि हामी सोचौं ।
हामीले नजरअञ्दाज गर्न खोज्यौं होला, तर मधेस नजरअञ्दाज भयो कि भएन ?
मधेस आन्दोलन नाबाट फर्केर गाउँमा पस्यो अथवा चुप लागेर बस्यो । र, पनि
काठमाडौंमा मधेसको चर्चा नभएको वा मधेसले नपिरोलेको त कुनै दिन रहेन ।
माघ पछि पनि हामी यो देखिरहेका छौं ।
त्यसैले विश्लेषण आफ्नो आफ्नो होला तर मधेसले एक वर्ष काठमाडौंको
निद्रालाई हराम गरेको कुराबाट हामीले के पाठ सिक्ने ? अर्को कुरा, वार्ता
त केपी ओलीले पनि भन्दैछन् । पत्रकारहरुले पनि भन्दैछन् । तर, संघीयताको
सवालमा आएपछि झापा, मोरङ, सुनसरी मधेसमा आउनुहुँदैन र आउनुपर्छ भनेर
नेपालको मिडिया कसरी पोलराइज्ड भयो ?
केपी ओली, कृष्ण सिटौलाले झापा, मोरङ मधेसमा आउनुहुँदैन भनिरहँदा झापाका
पत्रकार साथीहरु जो नेपालको लिडिङ मिडियामा हुनुहुन्थ्यो, उहाँहरुले
कहिल्यै प्रश्न उठाउनुभयो त ? चित्त त यहाँ दुख्छ नि त । संघीयताको सवाल
आएपछि मिडियाले झापा मोरङ सुनसरीका विषयमा साइलेन्स बसिदिने ।
नवलपरासीदेखि बर्दियासम्म पहाडलाई जोड्दा यसमा पनि यसमा पनि धेरै कडा
नहुने, कैलाली कञ्चनपुर त देउवाले छाड्दै छाड्दैनन् त्यसैले यसमा पनि
धेरै नबोलौं भन्ने ।
यहाँ काठमाडौंका साथीहरुले नाकाबन्दीलाई बढी 'वेट' दिने । हामी मधेसका
बारेमा लेख्ने साथीहरुले चाहिँ टाउकोमा गोली लागेको कुरालाई बढी वेट दिने
। प्रहरीले टाउकोमा ताकेर गोली लाग्दा मिडियाले किन बोलेन भनेर हाम्रो
मनमा प्रश्न उठ्ने, यहाँहरु भारतले नाकाबन्दी गर्दा मधेसीहरु किन बोलेनन्
भन्ने ।
के अहिले संविधानमा व्यवस्था भएको निर्वाचनले भोलि ०७४ मा हुने
निर्वाचनमा मधेसको प्रतिनिधित्व ०६४ सालको जस्तो हुन्छ ? मैले मोर्चाका
नेता कुरा गरेको छैन, मधेसी अनुहारको कुरा गरिराखेको छु । ०६४ सालमा मा
६०१ मध्ये २१० मधेसीहरु संविधानसभामा पुग्दा मधेसी मोर्चाका जम्मा ८६ जना
थिए । बढी त कांग्रेस एमालेबाट पुगेका थिए । तर, त्यो निर्वाचन
प्रणालीलाई किन हेरफेर गरियो भन्दाखेरि कुनै पनि पार्टीको मधेसी होस्
त्यहाँ पुग्नुहुँदैन । त्यहाँ पुग्यो भने रामवरण जन्मिन्छ भन्ने
प्रवृत्ति छ ।
मधेसीलाई यो देशमा प्रधानमन्त्री बन्न दिँदैनन् । तर, मुख्यमन्त्री
बन्नुपर्यो भन्ने छ क्या । मुख्यमन्त्रीको लडाइँ हो यो । त्यसैले
प्रदेशको रचनाको आधार के हो भन्ने प्रश्न हो नि त । एजेण्डा के हो भनेर
प्रश्न गर्दा हाम्रो चित्त दुख्छ नि त ।
अन्तिम कुरा के हो भने मधेसले शान्त भएर काठमाडौंलाई बस्न दिँदैन ।
एकवर्षको क्यालेण्डर हेरौं । आफ्नै अखबारका पानाहरु हेरौं । घघडान
राइटरहरुको कसरी भ्वाइस चेञ्ज भएको छ ।
जवसम्म काठमाडौंले मधेसीलाई आत्मसात गर्दैन, स्पष्ट हुनुभए हुन्छ,
मधेसीले भारतको विरोध गर्दैन । हामीलाई गोली हान्दाखेरि त त्यही रक्सौलको
भूमिले हो नि त हामीलाई बचाएको । यो त तथ्य हो नि त । हामीले किन विरोध
गर्ने भारतको ? रुक्माङगद कटवाललाई हटाउँदाखेरि प्रचण्डलाई भारतले
हटाइदियो, त्यो काठमाडौंलाई वाहवाही हुने, अनि हामीलाई गोली हान्दाखेरि
हामी भारतमा गएर लुकेकोमा आपत्ति हुने ?
हामी साइकोजिकल्ली विभाजित छौं । यसलाई काठमाडौंले अझ नजरअञ्दाज गर्यो
भने आगामी दिनमा यो अझै बढ्छ ।
मधेसीहरुको चाँहि पहाडबारे जिम्मेवारी हुँदैन ?- हरि रोका
Hari-rokaविश्वसनीयता बढाउने काम मधेसका आन्दोलनकारीहरुले पनि गर्नुपर्छ
भन्ने मलाई लाग्छ । उनीहरुले अरु मानिसलाई पनि कसरी विश्वासमा लिने भन्ने
कुरा त गर्नुपर्यो नि ।
जस्तो तपाईहरु संविधान बनिसकेपछि प्रधानमन्त्रीलाई भोट हाल्न संसदमा
जानुभयो, किन गएको भन्नेबारेमा कसैले पनि केही पनि थाहा पाउन सकिएन ।
बुझ्न सकिएन । भोलि फेरि जान्छन् भन्ने कुरा पनि चलिराखेकै छ ।
आन्दोलनकारीहरुले गर्न खोजेको र भन्न खोजेको के हो भन्ने नै म मोफसलको
मान्छेलाई थाहै छैन ।
दोस्रो, म पनि मधेस घुमरै आएँ । दुई तीनवटा जिल्लामा घुमें । सामान्य
मान्छेहरुसँग कुराकानी गर्दाखेरि मलाई के थाहा भयो भने उनीहरुलाई एमाले,
कांग्रेस, माओवादीसँग मात्रै होइन मधेसका दल र नेताहरुसँग पनि त्यत्तिकै
वितृष्णा रहेछ । यिनीहरुले लगेर कहाँनेर सेलाउँछन्, कहाँनेर डुबाउँछन्
भन्ने टाइपको तलको मानसिकता छ ।
म त के देखिराखेको छु भने ठूला राष्ट्रिय पार्टीको कुरामात्रै होइन, सबै
पार्टीहरुको हालत हेर्दादेखि दक्षिणपन्थी वा कुनै एउटा पन्थी आएर
हस्तक्षेप गर्यो भने कोही पनि बोल्नेवाला छैनन् । अरुले बेग्लै आँखाले
बेग्लै मान्छे देखेर आउनुभएको भए भिन्नै कुरा, तर मैले देखेको यही हो ।
मान्छेमा धेरै वितृष्ण आइसकेको छ । मैले यसलाई जेनेरलाइज्ड (सामान्यीकरण)
गर्न खोजेको होइन ।
अहिले सबै माले मसाले मण्डले भनेर जुन ट्याग भिराइँदैछ, यसले मात्रै काम
गरेको छ जस्तो मलाई लाग्दैन । त्यहाँभित्र धेरैखालमा मान्छे जोडिएका छन्
। धेरैखालका डेमोक्रेटिक मुभमेन्टबाट आएका छन् । उनीहरुले धेरै कसरत
गरेका छन् ।
अहिले यो हाम्रो संघीयताका बारेमा बुझाइ बेग्लाबेग्लै खालको छ । त्यो
बुझाइमा हामीले कन्भिन्स गर्न सक्ने ठाउँ के हो भन्नेबारेमा हामीले
सोच्ने कि नसोच्ने ?
मेरो विचारमा दुईवटा कुरालाई सोच्नुपर्छ । एउटा कम्युनिष्ट फिलोसोफीबाट
मानेर आएको के हो भने् एउटा चाइनिजहरुको संघीयता । उनीहरुकोमा पनि छ
संघीयता । यो गान्धीले भनेजस्तो स्वराज होइन, त्यसलाई हामी स्वघोषित नै
भन्छौं । केन्द्रीकृत सिस्टम नै हो त्यो । तर, सोभियत संघमा अर्को पनि
थियो नि । त्यसकारण हामीले बुझ्नुपर्ने कुरा, त्यो ट्यागबाट आएको मान्छे
शतप्रतिशत नै खत्तम हो, चोर हो, डाका हो भन्न थाल्ने हो भने तपाईले सहमति
पाउनुहुन्न । सहमतिका लागि त उसँग कुरा गर्नुपर्छ, छलफल गर्नुपर्छ ।
मधेसबारे मैले पनि लेखेको छु । तर तपाईका नेताहरुले लजिक त दिन
सक्नुपर्यो नि । कुराकानी गर्नुपर्यो नि । लेख्नुपर्यो नि । आफैं
नलेख्ने, अरुसँग कुरा पनि नगर्ने, मिडियासँग पनि नबस्ने । मधेसी
नेताहरुले किन नबस्ने ? किन कुरा नगर्ने ? मिडियामा लेख्ने हामीलाई
बोलाएर छलफल गर्दा पनि त हुन्छ नि । किन नबोलाएको ? किन कुरा नगरेको ? आफ
से आफ जानेर लेखिदिनुपर्ने ? यस्तो खालको कुरा हुँदैन । मेरो विचारमा
आन्दोलनकारीहरुले आन्दोलनलाई अरुलाई पनि 'पर्सेप्सन' गर्नुपर्छ ।
अहिले पनि केही बिग्रेको छैन । व्यक्तिगत रुपमा भन्दाखेरि म राष्ट्रवादी
हैन । म राष्ट्रघाती पनि हैन । मलाई राष्ट्रको बारेमा त्यत्रो ठूलो
चिन्ता पनि लाग्दैन । म वास्तवमा अन्तरराष्ट्रिवादी हुँ । यो देश डिफल्ट
हुन्छ भने पनि हुन्छ । मलाई त्यत्रो चिन्ता छैन । युगोस्लाभिया फुट्यो,
रसिया फुट्यो । भोलि सकेनन् भने चाइना फुट्छ । भोलि सकेनन् भने
इण्डियनहरु फुट्छन् । यो ठूलो कुरो होइन । यदि सम्हाल्न सकेनन् भने
फुट्छन् । तर, कम्तिमा एकदम सँगै बसौं, मिल्न सक्ने बेलासम्म सँगै बसौं
भन्नेखालको कुराकानी गर्ने हो भने तपाईको एजेण्डा त चाहियो नि । के
एजेण्डामा जाने ? एजेण्डाको कुरा गर्नुपर्यो ।
एजेण्डाको कुरा भन्दा मधेसले अरु प्रदेशका बारेमा के सोच्छ ? मधेसीहरुको
चाँहि पहाडको बारेमा जिम्मेवारी हुँदैन ? उसले माथिका बारेमा सोच्नुपर्छ
कि पर्दैन ? भोलि ऊ राष्ट्रपति प्रधानमन्त्री हुँदा उसले अरुलाई कसरी
समेट्छ भन्ने कुरा सोच्नुपर्छ कि पर्दैन ? यो एकोहोरो हुँदैन, दोहोरो
बाजा बजाउनुपर्छ ।
बुद्धिजीवी र पत्रकारको धन्दा प्रतिक्रिया दिनेमात्रै भयोः युग पाठक
yug-pathakअस्ति सौराहामा पनि मधेसका बारेमा छलफल हुँदा मारामार
होलाजस्तो भयो । त्यही सौराहामा भनेको एउटा कुरा दोहोर्याउन मन लाग्यो
आज यहाँ मलाई । यो न्यारेटिभ भन्ने कुरा कति खतरनाक हुन्छ भनेर मैले
त्यहाँ कुरा राखेको थिएँ ।
आज हामीले संसारभरि अमानवीय रुपमा युद्ध थोपिरिएको र मान्छे मारिएको कुरा
गर्नुपर्यो भने हिटलर, मुसोलिनीहरुको नाम आउँछ । तर संसारका जति पनि
तानाशाहहरुले मान्छे मारे होलान्, त्यसलाई पनि एकमुष्ट जोड्ने हो भने
त्यो भन्दा धेरै मान्छे अमेरिकाले हिरोसिमा र नागासाकीमा बम खसालेर
मारेको थियो । त्यसको अमानवीयताको व्याख्या गर्नलाई तपाई कुनै शब्द पनि
भेट्नुहुन्न ।
तर, आजको दिनमा अमेरिका मानवअधिकारको डिफेन्डर हो । डेमोक्रेसीको
सबैभन्दा ठूलो परिभाषा त्यहीँबाट आउँछ । संसारलाई कसरी हिँड्नुपर्छ भनेर
अमेरिकाले बाटो देखाउँछ ।
ओबामा हिरोसिमामा गए, तर त्यहाँ माफी माग्ने कष्ट गरेनन् । किनभने कष्ट
उठाउने जरुरी थिएन, किनभने सारा डोमिनेन्ट न्यारेटिभ्सहरु अमेरिकन भ्वाइस
बोल्छन् । किनभने ऊ सुपरपावर हो ।
मेरो चाँहि एउटा भनाइ के रहेको छ भने राजनीतिक दलका नेताहरुका आफ्ना कुरा
होलान्, लडाइँ होलान्, हामी त्यतातिर फर्किने कि नफर्किने ? हामी
बुद्धिजीवीहरु, पत्रकारसमेतको धन्दा पछिल्लो समयमा के भयो भने
पोलिटिसियनहरुले लिएर आइदिएको एजेण्डा अथवा राजनीतिज्ञहरुले गरेको
स्टेपमाथि प्रतिक्रिया दिने भयो । हामी प्रतिक्रिया दिएर बस्ने भयौं ।
वौद्धिकहरुको काम आ-आफ्नो सोसाइटीको सापेक्षतामा समाज अगाडि बढ्न सक्ने
तन्तुहरु के के हुनसक्छन्, त्यसलाई खोज्ने र सैद्धान्तीकरण गर्ने
हुनुपर्ने हो । त्यो कलाको माध्यमबाट हुन सक्छ, संस्कृतिको माध्यमबाट हुन
सक्छ र त्यो सिद्धान्तकै माध्यमबाट पनि हुन सक्छ ।
जुनसुकै तरिकाले वौद्धिकहरुले समाजमा नयाँ आइडियाहरु खोज्ने र
त्यसभित्रको तन्तु के हो भन्ने कुरा पत्ता लगाउने, त्यसलाई सिद्धान्तकृत
गर्ने र अगाडि बढाउने काम हुनुपर्ने हो वौद्धिकहरुको । यसबाट सोसाइटीको
अरु तप्काका साथै राजनीतिज्ञलाई पनि अगाडि बढ्ने दिशानिर्देश, वाध्यता,
डिस्कोर्ष या एउटा न्यारेटिभ बनाउन सकिन्थ्यो । संसारभरि दुनियाँ जसरी
यहाँसम्म आइपुगेको छ, वौद्धिकहरुको यही कामले ठूलो भूमिका निर्वाह गरेको
छ जस्तो लाग्छ मलाई ।
तर, हाम्रोमा धेरैजसो वौद्धिक कर्मचाँहि प्रतिक्रियात्मक छ । मलाईसमेत
भनेको हो मैले, हाम्रो कामचाँहि बढी प्रतिक्रियात्मक भयो भनेको हो मैले ।
हामी एउटै कुराको बहस गरिरहेका छौं । पहिले कटवाल काण्डका बारेमा बहस
हुन्थ्यो, आज मधेसीको बारेमा बहस भइरहेको छ । तर यस्ता खालका फोरमहरुमा
सधैंभरि दुईवटा पोजिसन हुन्छ र दुईवटा पोजिसनमा हामी भेला भएर आ-आफ्नो
पोजिसन राख्छौं र चिया खाएर निस्कन्छौं । यसबाट कहीँ पनि पुगिँदैन ।
रुक्माङ्गद काण्डले हाम्रो समाजलाई कहाँ पुर्यायो भन्ने आज डिस्कोर्ष
छैन । शान्ति प्रक्रिया कहाँ पुगेको अड्केको छ र आज त्यो घाऊ कसरी
बल्झिँदैछ भन्ने कुनै डिस्कोर्ष छैन । अब मधेस आन्दोलन कहाँ पुग्यो
भन्नेबारेमा पनि त्यसको सही एनालाइसिस हुनेवाला छैन ।
Home /
Undifined
/
मधेस आन्दोलन पर्यटकजस्तो पहाडमा घुमिरहेको छः संग्रौला
No comments:
Post a Comment