बिर्तामोड , २३ बैशाख । झापाको गरामनी–९ निवासी शंकर उप्रेती बेपत्ता भएको १४ वर्ष भयो । उनलाई अज्ञात समूहले कुटपीट गर्दै घरैबाट २०५९ सालमा अपहरण गरेर लगेको उप्रेतीकी श्रीमती धनमायाले भनिन्– ‘१४ वर्ष भयो हजुर श्रीमानलाई अपहरण गरेर लगेको अहिलेसम्म उहाँको कुनै अत्तोपत्तो छैन ।
केही समय अगाडि सवारी दुर्घटनामा परी उनी अहिले घाइते बनेकी छिन् । । ‘श्रीमान् वेपत्ता भएको पीडा त छदैछ’ उनले भनिन् – आफूपनि दुर्घटनामा परेर गम्भीर घाइते भएकी छु, छोरो चाँही भाग्यले बाच्यो तर उपचार गर्दागर्दै झिरिझ्याम्टी नै सकियो ।
श्रीमान् वेपत्ता भएपछि मैले श्रीमानको खोजी गरिदिन सरकारलाई आग्रह गर्दै पहिलापनि निवेदन दर्ता गराएकी थिए झैंसम्म त्यो निवेदन थन्किएर बसेको छ धनमायाले भनिन् – सत्य निरुपण तथा मेलमिलाप आयोगले अहिले फेरि निवेदन लिन शुरु गरेको थाहा पाएर उजुरी गरेकी छु ।
उनले स्थानीय शान्ति समिति झापामा वैशाख ८ गते उजुरी दर्ता गराएकी छिन् । वेपत्ता पारिएका व्यक्तिको छानविनका लागि सरकारले गठन गरेको आयोजगले वैशाख वैशाख २ गतेबाट उजुरी लिन शुरु गरेपछि उनले स्थानीय शान्ति समिति झापा मार्फत उजुरी दर्ता गराएकी हुन् ।
उनीजस्तै झापा राजगढ –६ निवासी अनिता किस्कुले पनि स्थानीय शान्ति समिति झापामा नै आएर वैशाख १५ गते निवेदन दर्ता गरेकी छिन् । किस्कूका श्रीमान् वुदराज किस्कू २०६२ सालमा खोटाङमा माओवादीसंगको भिडन्तमा मारिएका थिए ।
विवाह भएको ५ वर्ष बित्न नपाउदै उनको माओवादीसंगको भिडन्तमा मृत्यु भएपछि उनले पनि राज्यसंग क्षमता अनुसारको कामको माग सहित छोराको अध्ययन र पालनपोष गरिदिन आग्रह गर्दै उजुरी दर्ता गराएकी छिन् । किस्कू लोपउन्मुख समुदायकी द्वन्द्व पीडित महिला हुन् ।
उनीहरु जस्तै झापाका ३६ जना द्वन्द्वपीडितले सत्य निरुपण तथा मेलमिलाप आयोगमा उजुरी दर्ता गराएका छन् । जसका ११ जनाले गोप्य रुपमा उजुरी दर्ता गराएको स्थानीय शान्ति समिति झापाका कार्यालय सचिव प्रविण घोषले जानकारी दिए । त्यस्तै वेपत्ता आयोगका लागि ७ वटा उजुरी दर्ता भएका छन् ।
शान्ति समितिमा आएका उजुरीहरु आयोगमा पठाइसकिएको र आउनेक्रम जारी रहेको समेत घोषले बताए । द्वन्द्व पीडितहरुले असार २ गतेसम्म निवेदन दर्ता गर्न पाउने व्यवस्था रहेको समेत कार्यालय सचिव घोषले बताए । जिल्ला प्रशासन कार्यालय झापाका अनुसार जिल्लामा १९ परिवारमा व्यक्ति वेपत्ता भएका छन् ।
शान्ति मन्त्रालयको तथ्याङ्क अनुसार सशस्त्र द्वन्द्वका क्रममा झापाका २४८ जनाको मृत्यु भएको १९ जना वेपत्ता, ४६ परिवार विस्थापित ३३ जना अपाङ्ग,भएको जनाएको छ । त्यस्तै १६ जना घाइते, ५ अपहरण ,३१ जना महिला विधुवा भएको जनाएको छ । यसैगरी जनआन्दोलनका समयमा २२० जना घाइते र दुई जनाको मृत्यु भएको जनाएको छ ।
No comments:
Post a Comment