सिरहा, १६ बैशाख । मानव अधिकार संचार प्रतिष्ठान नेपाल र न्याय तथा अधिकार संस्था नेपाल ललितपुरले बुधवार सिरहामा एक कार्यक्रम गर्दै ‘महिला हिंसा विरुद्ध ३६५ दिने अभियान’ न्यायमा पहुँच परियोजना सार्वजनीकिकरण गरेको छ ।
छलफल, गोष्ठी र अन्तरकृयाका साथै भौतिक निर्माणको पक्षलाई ख्याल गर्दै गैर सरकारी संस्थाले कार्यक्रम ल्याउनुपर्ने प्रमुख जिल्ला अधिकारी विजयनारायण मान्नधरले बताए । गोष्ठी, छलफल र अन्तकृया कार्यक्रमको परिणाम केही दिनमा बिलय हुने भएकोले त्यतिमा मात्र सिमित्त नरहेर दिर्घकालिन रुपमा परिणाम देखिने गरी कार्यक्रम संस्थाहरुले ल्याउनुपर्ने उनले बताए ।
हिंसा पीडित महिलाहरुलाई दुई छाक खुवाउने र सुधारका लागि केही दिन राख्ने सुरक्षित ठाउँको अभावलाई पूर्ती गर्न आउने केही दिनमा सुरक्षितवास स्थान (सेफ हाउस) हुने प्रजिअ मान्नधरले बताए । स्थानीय स्तरका विभिन्न निकायले उक्त सेफ हाउस संचालन र व्यवस्थापनमा सहयोग गर्न लागेको बताउदै उनले गैर सरकारी संघ संस्थासँग सहयोगको अपेक्षा गरे ।
विभिन्न कारणले हुने गरेको महिला हिंसालाई न्यूनीकरण गर्नका लागि यो परियोजना संचालन गर्न लागेको इहि«कनकी कार्यक्रम संयोजक रोशनी पोखरेलले बताइन् । महिलामाथि हुने हिंसाका घटनालाई न्युनीकरण गर्नुका साथै स्वनिर्भर भएर महिलाहरु न्यायिक निकायमा पुग्न सक्ने वातावरणको निर्माण यो परियोजनाले गर्ने उनले बताइन् ।
विभिन्न तथ्यांकलाई केलाउने हो भने महिलामाथि हुने हिंसाका घटनाहरु दिनानुदिन बढिरहेको जुरी नेपालका कार्यक्रम संयोजक विष्णु पोखरेलले बताए । कानूनी अवधारणालाई समेट्दै महिला तथा बालिकाको सहभागीतामा तालिम, गोष्ठी, छलफल चलाइने भएकोले यो परियोजनाले महिलाको परनिर्भरतालाई निस्तेज पार्ने उनले जनाए ।
न्यायिक निकाय र महिला एवम् बालिकाको सहभागीतामा हुने त्यस्ता छलफलले आपसी सम्बन्धमा पनि मजबुत बनाउने उनले भने । २०१६ फेब्ररी १ देखि २०१८ अक्टोवर सम्म सिरहाको सितापुर र पिप्रा प्र.धमा परियोजना संचालन हुने उनले प्रष्ट पारे ।
परियोजना संचालनका लागि जुरी नेपालले १२ लाख ७३ हजार ६ सय ५० र इहि«कनले २२ लाख २५ हजार १ सय २१ खर्च गर्ने उनले जनाए । जुरीले संचालन गर्ने गतिविधिबाट ८ सय र इहि«कनको गतिविधिबाट १ हजार ६ सयजना लाभान्वित हुने लक्ष्य रहेको उनले प्रष्ट्याए ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरिक्षक श्याम ज्ञावली, महिला तथा बालबालिका कार्यालय सिरहाकी प्रमुख दुर्गा भण्डारी (बराल), नेपाल पत्रकार महासंघ सिरहाका अध्यक्ष देवकुमार यादव, गैर सरकारी संस्था महासंघका सिरहा अध्यक्ष गोविन्दराज विष्ट लगायत विभिन्न व्यक्तिले परियोजनाको आवश्यकता र सफलतालाई लक्षित गरेर आ–आफ्ना विचार व्यक्त गरे । परियोजना संचालनमा हुने खर्चको बजेट सार्वजनिक गरेपछि उनीहरुले खुशी समेत व्यक्त गरे ।
No comments:
Post a Comment