पोखरा,४ चैत । पोखरामा जारी दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क०को ३७औँ परराष्ट्र मन्त्रीस्तरीय बैठक अन्तर्गत बुधबार स्थायी समितिको बैठक सम्पन्न भएको छ । बैठकले सार्क मन्त्रिपरिषद्को बैठकमा प्रस्तुत गरिने एजेन्डा तय गरेको छ ।
बैठकपछि आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागीले विभिन्न ३२ वटा एजेन्डामा छलफल भई बिहीबार बस्ने मन्त्रीस्तरीय बैठकका लागि प्रतिवेदन तयार गरिएको जानकारी दिनुभयो । बैठकले सार्क क्यालेन्डर तय गरी हरेक २ वर्षको नोभेम्बर महिनामै सार्क सम्मेलन गर्ने छलफल गरेको छ । नोभेम्बर महिनाको कुन दिन गर्ने भन्नेबारेमा भने सम्बन्धित सदस्य राष्ट्रलाई तय गर्न जिम्मेवारी दिइने उहाँले बताउनुभयो ।
सार्क सदस्य राष्ट्रका परराष्ट्र सचिव सम्मिलित उक्त बैठकले हरेक सार्क सम्मेलनबाट गरिएका निर्णयको कार्यान्वयनमा जोड दिएको छ । सार्क क्यालेन्डर व्यवस्थापन नहुँदा सार्कका गतिविधि प्रभावकारी ढङ्गबाट अगाडि बढ्न नसकेकोमा सदस्य सबै राष्ट्र सम्वेदनशील भएकाले अबका दिनमा निर्णय कार्यान्वयनतर्फ लैजान सबैको पहल हुने उहाँले बताउनुभयो । पहिले नै निर्धारण गरेका क्रियाकलाप निर्धारित समयमा हुनुपर्नेमा मन्त्रीस्तरीय बैठकका लागि प्रस्तुत गरिएको छ ।
अघिल्ला दुई दिनको कार्यक्रम समितिले तय गरेका विषयबारे पनि स्थायी समिति बैठकमा छलफल भएको छ । बैठकमा सार्कको विकासका लागि कृषि उत्पादनमा आधुनिकीकरण, बीउबिजन व्यवस्थापन, सार्क विकास कोषको उपयोगिता, सार्क ऊर्जा केन्द्रको व्यवस्थापन, क्षेत्रीय योजना परिषद् लगायत विभिन्न मुद्दामा छलफल भएको थियो । सार्क स्थापनाको ३०–३२ वर्षको इतिहासमा सार्कलाई कसरी प्रभावकारी र परिणाममुखी बनाउन सकिन्छ भन्नेमा सहभागीबीच गहन छलफल भएको उहाँले बताउनुभयो ।
उहाँले नेपालले उठाएको सामुदायिक वनको एजेन्डामा भारत र पाकिस्तान लगायतका देश सहमति नजिक पुगेको समेत जानकारी दिनुभयो । सार्क सदस्य राष्ट्रबीच आपसी सद्भाव र सम्बन्ध कायम गर्न सबै सहमत भएको पनि उहाँले बताउनुभयो ।
सार्क मन्त्रीस्तरीय बैठक बिहीबार सुरु हुनेछ । यसअघि सुरुवातका दुई दिन कार्यक्रम समिति बैठक सम्पन्न भएको थियो । कार्यक्रम समितिले तय गरेका सार्कका भावी योजना तथा कार्यक्रम स्थायी समिति हुँदै मन्त्रीस्तरीय बैठकबाट पारित गरी निर्णय हुनेछ । चारदिने बैठकको अन्तिम दिन बिहीबार हुने मूल कार्यक्रमको नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुहुनेछ ।
बैठकमा नेपालका उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा, भारतका विदेशमन्त्री सुष्मा स्वराज, माल्दिभ्सका विदेशमन्त्री डुनया मौमुन, श्रीलङ्काका विदेशमन्त्री मङ्गला समरावेरा, बङ्गलादेशका विदेशमन्त्री अवुल हसन मोहमद अली, भुटानका विदेशमन्त्री डामचो दोर्जी, अफगानिस्तानका उपविदेशमन्त्री हिक्मत खालिद कार्जाई र पाकिस्तानी प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार सर्ताज अजिज सहभागी हुनुहुनेछ ।
बैठकमा सहभागी हुन छ देशका मन्त्री, अफगानिस्तानका उपविदेशमन्त्री र पाकिस्तानका प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार बुधबार दिउँसो पोखरा आइपुग्नुभएको छ । नेपालका परराष्ट्रमन्त्री कमल थापा मङ्गलबारै पोखरा आइपुग्नुभएको छ । पाकिस्तान, श्रीलङ्का, भुटान, बङ्गलादेश, माल्दिभ्स र अफगानिस्तानका परराष्ट्रमन्त्री काठमाडाँैबाट एउटै जहाजमा पोखरा आउनुभएको थियो भने भारतका परराष्ट्रमन्त्री भारतको गोरखपुरबाट भारतीय सेनाको विमानबाट सीधै पोखरा विमानस्थलमा उत्रिनुभएको थियो । उहाँहरूलाई उपप्रधानमन्त्री कमल थापा लगायतले स्वागत गनुर््भयो ।
यसैगरी यती एयरको विमानबाट प्रधानमन्त्री केपी शर्मा ओली पोखरा आउनुभयो । प्रधानमन्त्री ओलीलाई उपप्रधानमन्त्री थापासँगै सञ्चारमन्त्री शेरधन राई लगायतले स्वागत गर्नुभयो । विमानस्थलबाट उत्रेसँगै उहाँ सबै सहभागी बसोबासको व्यवस्था गरिएको होटल पोखरा ग्रान्ड पुग्नुभएको थियो ।
No comments:
Post a Comment