मलेसियाका उपप्रधानमन्त्री अहमद जाहिद हमिदीले शुक्रबार यस्तो घोषणा गरेका हुन् । मलेसियामा विदेशी कामदारलाई तत्काल रोजगारी नदिने घोषणासँगै नेपालबाट रोजगारका लागि मलेसिया जाने नयाँ नेपाली श्रमिक प्रत्यक्ष प्रभावित हुने भएका छन् । हाल मलेसियामा आठ लाख नेपालीले काम गरिरहेका छन् । मलेसियाले बिहीबार मात्रै बंगलादेशबाट १५ लाख कामदार लिने सहमति गरेको छ । शुक्रबारको घोषणाले यो प्रक्रियासमेत तत्कालका लागि रोकिएको जानकारी हमिदीले दिएका छन् ।नेपालले भने कामदार लिन रोकिएको बारेमा अहिलेसम्म कुनै औपचारिक जानकारी नआएको बताएको छ । वैदेशिक रोजगार विभागका प्रवक्ता जनक रेग्मीले मलेसियाले नेपालीसहित अन्य देशका कामदार लिन बन्द गरेको बारेमा अहिलेसम्म औपचारिक जानकारी नभएको बताए । ‘मैले पनि सञ्चारमाध्यममार्फत सुनें । तर हामीलाई औपचारिक रूपमा अहिलेसम्म यसबारेमा कुनै जानकारी आएको छैन’, उनले भने ।म्यानपावर व्यवसायीले भने मलेसियाले यसअघि अप्रुबल (अनुमति दिएका) कामदार जान पाउने तर अब नयाँलाई भने अनुमति नदिने निर्णय गरेको जानकारी दिएका छन् । ‘हामीले रोजगारदातासँग बुझ्दा पहिला अनुमति लिई पाइपलाइनमा रहेका जान पाउने तर थप जान नपाउने भएका छन्’, एक म्यानपावर व्यवसायीले भने । मलेसिया काम गर्न जान अनुमति लिएर पाइपलाइनमा करिब २० हजार नेपाली रहेको अनुमान छ ।हालैमात्र अवैधानिक रूपमा बस्दै आएका आप्रवासी कामदारलाई वैधानिक बनाउने कार्यक्रम ल्याएको मलेसियाले काम गरिरहेका आप्रवासीलाई वैधानिक रूपमा रोजगारी दिन नयाँलाई रोजगारी बन्द गरेको यहाँका सञ्चारमाध्यमले जनाएका छन् । मलेसिया सरकारले अवैधानिक रूपमा रहेका आप्रवासी कामदारलाई फेब्रुअरी १५ बाट वैधानिक बन्न अवसर दिएको छ । यसका लागि अनलाइनमार्फत फर्म भर्ने प्रक्रियासमेत सुरु भइसकेको छ ।अवैधानिक कामदारलाई वैधानिक बनाएर काम सुनिश्चित गर्न नयाँलाई तत्काल रोजगारी दिन स्थगित गरिएको उपप्रधानमन्त्रीले बताए । विदेशी कामदारको आवश्यकता कहाँ कति छ भन्ने यकिन गरेर मात्र नयाँ लिन खुला गर्ने हमिदीले बताए । मलेसियाले हालै गरेको लेबी वृद्धिको निर्णयसमेत तत्कालका लागि स्थगित गरेको छ । लेबी कामदारसँग उठाइने रकम हो । मलेसियाले नयाँ विदेशी कामदारलाई भन्दा मलेसियामा नै रहेका अवैधानिकलाई वैधानिक बनाउन पहल गरेको छ । विदेशी कामदार लिने प्रक्रिया रोकेर लेभी दरलगायत विषयमा पुनर्विचार गर्न लागिएको जानकारी हमिदीले दिए ।अवैधानिकलाई वैधानिक बनाउन पुनः दर्ता कार्यक्रम सञ्चालन गरिसकिएको र कार्यक्रममा सहभागी नहुने आप्रवासीलाई पक्राउ गर्र्न सरकारले ठूलो मात्रामा सुरक्षाकर्मी परिचालन गर्ने घोषणा गरेको छ । धरपकडमा पक्राउ परेकालाई उनीहरूकै देशमा फिर्ता गर्ने योजना मलेसिया सरकारले ल्याएको छ । मलेसिया सरकारको ध्यान अवैधानिक आप्रवासीलाई वैधानिक बनाउनेतर्फ केन्द्रित भएकाले नयाँ विदेशी कामदारलाई श्रम स्थगित गरिएको हमिदीको भनाइ उल्लेख गर्दै सरकारी सञ्चारमाध्यम वार्नामाले जनाएको छ ।मलेसिया सबैभन्दा धेरै नेपाली कामदार गएको मुलुक हो । गत वर्षसम्म मासिक औसतमा २० हजारभन्दा बढी कामदार त्यहाँ जाने गरेका थिए । नेपालले असारमा निःशुल्क टिकट र भिसाको प्रावधान ल्याएपछि भने मलेसिया जाने कामदारको संख्यामा ठूलो गिरावट आएको छ । चालू आर्थिक वर्षका प्रायः सबै महिनामा औसतमा पाँच हजार हाराहारी कामदारमात्र मलेसिया गएका छन् । गत वर्षसम्म मलेसियाबाट सबैभन्दा धेरै रेमिट्यान्स नेपाल भित्रिने गरेको थियो ।नेपाल भित्रिने कुल रेमिट्यान्समध्ये मलेसियाबाट मात्रै ३० देखि ४० प्रतिशत हिस्सा छ । वार्षिक पाँच खर्बभन्दा बढी रेमिट्यान्स नेपाल आउँछ । सरकारले रोजगारीका अन्य गन्तव्य खोजी नगरेका बेला मलेसिया पठाउन नपाएपछि बेरोजगारी समस्या समाधान गर्न थप चुनौती हुनेछ । हाम्रो श्रम बजारमा वार्षिक साढे चार लाख युवा थपिने गरेका छन् । अर्थतन्त्रमा रेमिट्यान्सको हिस्सा २२ देखि २५ प्रतिशतसम्म छ ।
Home /
Breaking
,
International
,
Rojgari Khabar
,
Socity
/
मलेसिया सरकारले गरे विदेशी कामदारलाई रोजगारी बन्द
No comments:
Post a Comment