काठमान्डो ४ माघ । आफूसँग माफी नमागेसम्म केपी ओलीसँग नभेट्ने अडान लिंदै आएका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो आइतबार बेलुकी मुसुमुसु हाँस्दै प्रधानमन्त्री निवास बालुवाटार छिर्नुभयो ।
प्रधानमन्त्री ओलीलाई
नमस्कार गर्नुभयो, हात र गला मिलाउनुभयो, मधेस आन्दोलन र समस्या समाधानबारे खुलेर कुरा गर्नुभयो, अनि प्रधानमन्त्रीको व्यवहार र कुराबाट प्रफुल्ल हुँदै बाहिरिनुभयो ।
बेलुकी झण्डै दुईघण्टासम्म ओली र महतोबिच बालुवाटारमा छलफल भयो । महतो बालुवाटारमा पुग्ने बित्तिकै ओलीले सुरुमै महतोको स्वास्थ्यबारे सोध्नुभयो । टाउकोको चोट नियाल्नुभयो र सोध्नुभयो ‘आपका सेहत अब कैसा है ?’
‘उहाँले धेरैबेर मेरै स्वास्थ्यबारे जानकारी लिनुभयो’ महतोले उज्यालो अनलाइनसँग भन्नुभयो, ‘त्यसपछि हामीबीच राजनीतिक विषयमा कुराकानी भयो ।’ महतोका अनुसार ओली र उहाँ भेट हुँदा हिन्दी, मैथेली र नेपाली भाषामा कुरा हुन्छ । ‘हिजो पनि हामीबीच तीनवटै भाषामा कुरा भयो’ हाँस्दै महतोले भन्नुभयो, ‘धेरैपछि भेट भएको, खुलेरै कुरा भयो ।’
महतोका अनुसार प्रधानमन्त्री ओलीले यसअघि मधेसबारे आफुले दिएका अभिव्यक्तिको प्रष्टीकरण दिनमै समय खर्चनुभयो । ‘उहाँले डिस्नरी नै देखाएर मैले बोलेको अर्थ यो हो भनेर सुनाउनुभयो, प्रष्टीकरण दिन खोज्नुभयो’ महतोले भन्नुभयो ।
No comments:
Post a Comment