राजविराज, १८ माघ । नेपाली काँग्रेसको राजविराज नगर अधिवेशन बिथोल्ने क्रममा मधेशी मोर्चा र काँग्रेसका कार्यकर्ता बीच सोमवार झडप भएको छ ।
राजविराज स्थित केशो अनिरुद्धवती माध्यमिक विद्यालय प्राङ्गणमा आयोजित नगर अधिवेशनको निर्वाचनमा मोर्चाका नेता तथा कार्यकर्ताहरुले नाराबाजी गर्दै अवरोध पुर्याएका छन् । मोर्चाका नेता तथा कार्यकर्ताहरुले निर्वाचन स्थलमा अवरोध पुर्याउन थालेपछि काँग्रेसका युवाहरुले समेत प्रतिकार गरेका छन् । सोही क्रममा भएको झडपमा युवा विद्यार्थी मोर्चा सप्तरीका संयोजक तारकेश्वर यादव समान्य घाइते भएका छन् ।
मोर्चाले नगर अधिवेशन हुन नदिन निर्वाचन स्थलको मूल गेटमा नाराबाजी जारी राखेका छन् । यसैगरी राजविराज नगरपालिकाको गजेन्द्रचौक, सहीद दशन चौकलगायतका स्थानहरुमा बिहानैदेखि मोर्चाले टायर बालेर प्रदर्शन जारी राखेका छन् ।
काँग्रेसको नगर सभापतिमा प्रभातकुमार ललन र शम्भुलाल देवले उम्मेदवारी दिएका छन् । सचिवमा दिपक चौधरी र शत्रुध्न प्रसाद साह तथा कोषाध्यक्षमा बिमल श्रेष्ठ र मेराज अन्सारी प्रतिष्पर्धामा उत्रेका छन् । यसअघि सप्तरीको विभिन्न गाविसहरुमा आयोजित काँग्रेसको गाउँ अधिवेशनलाई मोर्चाका नेता तथा कार्यकर्ताहरुले बिथोलेका छन् । यद्यपी कतिपय स्थानहरुमा भने निजी घरमा गाउँ समितिको अधिवेशन सम्पन्न भएको छ ।
तस्विरः शंकर कुमार यादव ( न्यूज टुडे)
No comments:
Post a Comment