समग्रसंदेश सम्बादाता ,सिरहा २ पुष ।
सिरहा– सिरहाका हरुवा चरुवाहरुले अधिकार प्राप्तिको आन्दोलनलाई हातेमालो र सहकार्यमूलक ढङ्गले अझ सशक्त बनाउने उद्घोष गर्दै नौं बुँदे सिरहा घोषणा पत्र जारी गरेका छन् । हरुवा चरुवा अधिकार मञ्च सिरहाको दोस्रो जिल्ला सम्मेलनले घोषणा पत्र जारी गर्दै नयाँ नेतृत्व चयन गरेको छ । राज्यले भूमिहीन दलितलाई एक पटक जमिन उपलब्ध गराउने र आवासविहीन दलितलाई बसोवासको व्यवस्था गर्ने संवैधानिक व्यवस्था तत्काल कानुन बनाई कार्यान्वयन गरिनु पर्ने, केन्द्रीय र स्थानीय निकायको वार्षिक योजना तथा बजेटमा हरुवा चरुवा बस्तीमा खानेपानी, बिजुलीको व्यवस्था गरिनु पर्ने घोषणा पत्रमा उल्लेख छ । । हरुवा चरुवाको उठीबासको घटना तत्काल बन्द गरी उनीहरुको नाममा रहेको सम्पूर्ण ऋण खारेजी गरिनु पर्ने, श्रम अनुसारको ज्याला निर्धारण गरी कार्यान्वयन गरिनु पर्ने, मुक्तिको घोषणा गरी सुरक्षित बास र परिवार संख्याको आधारमा जग्गासहित पुनःस्थापित गराइनु पर्ने माग गरिएको छ ।
जिल्लाका अगुवा हरुवा चरुवा प्रतिनिधिहरुको आज सम्पन्न सम्मेलनले जीविकोपार्जनका लागि विभिन्न सीपमूलक तालिम संचालन गरी लघु उद्यम व्यवसाय गर्न अल्पकालीन र दीर्घकालीन रुपमा अनुदान उपलब्ध गराईनु पर्ने, हरुवा चरुवाका छोराछोरीलाई उच्च र प्राविधिक शिक्षामा छात्रवृत्तिसहितको व्यवस्था गरियोस्, हरुवा चरुवालाई स्वास्थ्य सेवामा विशेष सहुलियत दिईनु पर्ने, भूमिहीन हरुवा चरुवासँग सरकारले गरेका सम्झौताहरु अक्षरशः कार्यान्वयन गर्दै हरुवा चरुवाको मानवअधिकारको सम्मान गरिनु पर्ने माग गरिएको छ ।
द फ्रिडम फण्डद्वारा जेनेभा ग्लोवलको सहयोग अन्तर्गत दलित संरक्षण अभियान मञ्च र हरुवा चरुवा अधिकार मञ्चद्वारा जारी घोषणा पत्रमा उल्लेखित माग सम्बोधन गराउन र आन्दोलन सशक्त बनाउन जिल्लाका हरुवा चरुवाहरुले सर्वसम्मत रुपमा पाँचु रामको अध्यक्षतामा १५ सदस्यीय हरुवा चरुवा अधिकार मञ्च सिरहा गठन गरेका छन् । मञ्चमा उपाध्यक्ष राजवती मण्डल, सचिव श्यामसुन्दर सदाय, कोषाध्यक्ष रामदुलारी सदाय र सदस्यहरु इश्वरवती राम, विन्देश्वर महरा, पवनीदेवी सदाय, मो। कासिम, लिलियार मरिक रहनु भएको छ । त्यस्तै, दुःखीलाल मण्डल, मानकी सदाय, सीतादेवी सदाय, रामचन्द्र सदाय, पानोदेवी सदाय मञ्चको सदस्य चयन भएका छन् ।
‘दास प्रथाको अवशेषको रुपमा रहेको बँधुवा मजदूर हरुवा चरुवाहरु आफूले उब्जाएको अन्नले गिरहतको भकारी भर्छन् तर आफ्ना लालाबालालाई पेटभरि खान र लाउन समेत नपाएर तड्पिरहेका छन्’ घोषणा पत्रमा भनिएको छ ‘सिरहा जिल्लाका गाउँ बस्तीमा बसोवास गर्ने करिब १८ हजार एक सय ६० हरुवा चरुवाहरु पुस्तौं पुस्ताले त्यही नियति भोग्दै आएको छ, बँधुवा मजदूरको रुपमा काम गर्दै आएका सिरहा जिल्लाका हरुवा चरुवाहरुले काम अनुसारको ज्याला, ओत लाग्ने झुपडी हाल्न र कमाउने जग्गा माग्दै आएपनि राज्यले सुनेको छैन ।’ काम गरेवापत्को उचित ज्याला, आत्मसम्मान, बस्ने थातथलोको सुरक्षा, कमाई खाने माटोको माग गर्दै आएका हरुवा चरुवाहरुको सम्बोधन राज्यले चाहने हो भने ठूला माग नभएको उल्लेख छ ।
No comments:
Post a Comment